झापा, १७ भदौ – कोशी प्रदेशका ५४ सामुदायिक वनले आम्दानी र स्थानीय आकर्षण बढाउने उद्देश्यले पर्यापर्यटन गतिविधि सञ्चालन गरिरहेका छन्, जसमा ३३ वटा वनले सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरेका छन्।

यी वनहरूमध्ये सबैभन्दा धेरै २३ झापामा छन् भने मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, इलाम, ताप्लेजुङ र सङ्खुवासभाका वनहरू पनि सक्रिय छन्।
सामुदायिक वनहरूले वनभोज, नौका विहार, बाल उद्यान, सेल्फी स्पट, मिनी चिडियाखाना र वन्यजन्तु उद्धार केन्द्रजस्ता गतिविधि सञ्चालन गर्दै आएका छन्। मोरङ र सुनसरीका तीन सामुदायिक वनमा मिनी चिडियाखाना छन् भने झापाका दुई वनमा उद्धार केन्द्र सञ्चालनमा छन्।
सहायक वन अधिकृत सुशान्त पोखरेलका अनुसार, पर्यटकीय पूर्वाधार विकासले सामुदायिक वनहरूलाई आर्थिक तथा जैविक संरक्षणमा सहयोग पुर्याइरहेको छ।














