काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी भएका र मृत्यु भएकाहरूको अङ्गदानले धेरैको जीवन बचेको छ । उक्त घटनामा १६० जना बिरामी भएका थिए भने २३ जनाको मृत्यु भएको थियो, जसमध्ये १३ जना नेपाली थिए ।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ५१ जनालाई मिर्गौला डायलाइसिस र ३१ जनालाई भेन्टिलेटर आवश्यक परेको थियो । अवैध मदिरा उत्पादन र वितरणमा संलग्न ६७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कुवेतको अङ्ग प्रत्यारोपण केन्द्रका प्रमुख डा.मुस्तफा अल-मुसावीले बताएअनुसार सघन उपचारमा रहेका २० मध्ये १२ जनालाई ब्रेन डेड घोषणा गरिएको थियो । तीमध्ये १० जनाको परिवारले अङ्गदानका लागि सहमति जनाएका थिए ।
यी दाताबाट २० मिर्गौला, तीन मुटु, चार कलेजो र दुई फोक्सो सङ्कलन गरिएको जनाइएको छ । फोक्सोबाहेक अन्य अङ्गको प्रत्यारोपण सफल भएको थियो । पछिल्ला पाँच दिनमा तीन मुटु प्रत्यारोपण सम्पन्न भएका छन् ।
कलेजो प्रत्यारोपण रोकिएकाले कलेजो अबुधाबी पठाइएको जनाइएको छ । अङ्ग प्रत्यारोपणअघि मिर्गौला, मुटु, कलेजो र फोक्सोको विभिन्न परीक्षण गरिएको थियो । मृतक दाताको अङ्गलाई उच्च प्राथमिकता दिइएको डा. मुस्तफाले बताए । कुवेत प्रहरीले विषाक्त रसायन आपूर्ति गर्ने गोदाममा छापा मार्दै २५८ जनालाई पक्राउ गरेको थियो । बिरामी निको भएकाहरूलाई पनि देश निकाला गरिएको छ ।














