काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न आन्तरिक निर्वाचन गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय समिति बैठकले यो निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

राप्रपाका नेता दीपक बोहोराको निधनपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । ‘पार्टीको नवीन कार्ययोजनाअनुसार नयाँ अभ्यासको रूपमा प्रारम्भिक नि वाचन प्रणाली अपनाउने निर्णय भएको छ,’ श्रेष्ठले भने ।
उम्मेदवार छनोटका लागि मतदानमा रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू, सो क्षेत्रअन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी र सदस्यहरू, साथै उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा कार्यसमितिका पदाधिकारी र सदस्यहरूले भाग लिनेछन् ।
यसैगरी, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरू, सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र पदाधिकारीहरू, २०८२ भदौ १७ सम्म कायम भातृ सङ्गठनका पदाधिकारी र सदस्यहरू, साथै सोही मितिसम्म सक्रिय सदस्यता प्राप्त गरिसकेका रुपन्देही-३ का सक्रिय सदस्यहरूले मतदानमार्फत उम्मेदवार चयन गर्नेछन् ।
यसअघि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यही प्रणाली अपनाएर रुपन्देही-३ मा लेखजंग थापालाई उम्मेदवार चयन गरिसकेको छ ।














