Logo
Logo

पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द


189
Shares

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभुत विद्यालयमा पठनपाठन बन्द भएको हो ।

विभिन्न स्थानमा सडकमाथिबाट आएको पहिरोका कारण विद्यार्थीलाई विद्यालय आवागमनमा समस्या हुने भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक सुरज जोशीले जानकारी दिए। “सडकका विभिन्न स्थानमा पहिरो आएको छ, आवतजावत गर्न निकै समस्या छ”, उनले भने “नियमित सडक सञ्चालन नभएसम्म विद्यालयमा पठनपाठन गर्न सकिने अवस्था छैन ।”

यहाँको दुर्गम बस्ती खल्ला, मसेट्टी र टुँडिखेलको भौगोलिक बनावट पहाडी भेगको जस्तै छ । महेन्द्रनगर सदरमुकामबाट यहाँ पुग्न चुरे भएर बग्ने १३ वटा खहरेखोला तर्नु पर्छ । यहाँ वर्षा हुँदा खोलामा आउने बाढीका कारण पनि विद्यार्थीहरूलाई आवागमनमा सास्ती हुने गरेको जोशीले बताए ।

भारी वर्षा भइरहेकाले सडकमाथिबाट आएको पहिरोले विद्युत सेवा अवरुद्ध भएको भीमदत्त–९ का वडाध्यक्ष गगन सिंह कार्कीले जानकारी दिए। पहिरोले विद्युत्का खम्बामा समेत क्षति गरेको छ भने हालसम्म सडक खुलाउन नसकिएकोले आवतजावत बन्द भएको बताए ।

प्रतिक्रिया दिनुहोस्