काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीनमा भएको भेटका क्रममा लिपुलेकबारे प्रश्न नगरेको भन्दै संसद्मा कटाक्ष गरेका छन्।

बुधबार प्रतिनिधि सभामा बोल्दै सुवालले चीनको राष्ट्रपति सी जिनपिङले आयोजना गरेको रात्री भोजमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच उभिँउभिँदै भेट भएको स्मरण गरे।
उनले सो भेटपछि मोदीले तस्बिर सार्वजनिक गर्दै नेपालसँग विशेष सम्बन्ध रहेको भनेको प्रसंग उल्लेख गरे।
‘प्रधानमन्त्री ओलीले मोदीलाई लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले गरेको हस्तक्षेपबारे विरोध गर्नुभयो कि ?’ भन्दै सुवालले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाए। उनले थपे, ‘यदि विरोध नगर्नुभएको हो भने, मोदीको अभिव्यक्ति व्यङ्ग्य नै थियो कि ?’
सांसद सुवालले भारत–चीनबीच नेपाली भूमि लिपुलेक हुँदै व्यापारको सहमति भएकोबारे प्रधानमन्त्री ओलीले प्रत्यक्ष भेटमा असहमति जनाउनुपर्ने स्पष्ट पारे।
त्यस्तै, उनले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (GSI) मा नेपालले समर्थन गरेको भन्ने चिनियाँ दाबीबारे पनि संसद्मा प्रधानमन्त्रीले स्पष्ट धारणा दिनुपर्ने माग गरे।














