काठमाडौँ । भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका दूध किसानहरूले आन्दोलन रोक्ने निर्णय गरेका छन्।

बुधबार सरकार र आन्दोलनरत संघ–संस्थाबीच भएको सहमति अनुसार कात्तिक मसान्तसम्म सम्पूर्ण बक्यौता भुक्तानी गरिने भएपछि आन्दोलन फिर्ता लिइएको हो।
डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन लगायतका संस्थाहरूले केही दिनदेखि बक्यौता भुक्तानीको माग गर्दै आन्दोलन गरेका थिए।
सहमति अनुसार:
- असार मसान्तसम्मको रकम असोज ५ गतेभित्र,
- साउन मसान्तसम्मको असोज ३० गतेभित्र,
- भदौ मसान्तसम्मको कात्तिक मसान्तभित्र भुक्तानी गरिनेछ।
त्यस्तै, दूधको परिमाण नघटाउने, र सरकारले तोकेको न्यूनतम मूल्यमा दूध खरिद गरिने सहमति पनि भएको छ। उद्योगहरू अब देशभरका कृषकबाट तोकिएको मूल्यमा निरन्तर दूध खरिद गर्न बाध्य हुनेछन्।














