काठमाडौँ । प्रतिनिधिसभाको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ मा राष्ट्रिय सभाले गरेको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। गृहमन्त्री रमेश लेखकले प्रस्ताव सदनमा पेश गर्नुभएको थियो।

विधेयकका मुख्य बुँदाहरू:
- आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको छ।
- बाबुको पहिचान नभएको अवस्थामा पनि सन्तानले आमाको नामबाट नागरिकता पाउन सक्ने।
- बाहिर जन्मिएका नेपाली सन्तान, दलित, कमजोर वर्ग तथा एकल महिलाका सन्तानलाई नागरिकता दिने स्पष्ट व्यवस्था।
- नागरिकता प्रक्रियालाई सरलीकृत बनाइने।
- गैर–आवासीय नेपालीलाई आर्थिक र सांस्कृतिक अधिकारसहित नागरिकता दिन छुट्टै कानून ल्याइने तयारी।
गृहमन्त्री लेखकले विधेयक संविधानमा उल्लेखित नागरिकताको हक कार्यान्वयनका लागि ल्याइएको बताउँदै, कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्य रहेको स्पष्ट पारे।
बैठकमा भाग लिएका सांसदहरूले विधेयकले लैङ्गिक समानता, वञ्चित वर्गको अधिकार, र नागरिकता वितरणमा स्पष्टता ल्याउने उल्लेख गर्दै समर्थन जनाएका थिए। केही सांसदले सीमावर्ती क्षेत्रमा विधेयकको दुरुपयोग हुन नदिन सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।














