Logo
Logo

गणपूरक संख्या नपुग्दा पशु चिकित्सा परिषद् विधेयक अगाडि बढेन


315
Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव गणपूरक संख्या नपुग्दा स्वीकृत हुन सकेन।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विधेयक पेस गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्या यकीन गर्न माग गरेका थिए। सभामुख देवराज घिमिरेले जनाउ घण्टी बजाएर उपस्थित संख्या गणना गराउँदा ४९ सांसद मात्र उपस्थित थिए। संविधानको धारा ९४ अनुसार कम्तीमा ६९ सांसद आवश्यक पर्छन्।

विधेयकले पशु चिकित्सक र पशु चिकित्सा अध्ययन संस्थाको नियमन गर्ने व्यवस्था राखेको छ। मन्त्री अधिकारीका अनुसार, पशु सर्जरी जस्ता गम्भीर कार्य योग्य पशु चिकित्सकबाट मात्र गरिनुपर्ने भएकाले विधेयक ल्याइएको हो।

उक्त विधेयकमा पशुको निरोगिता प्रमाणपत्र, मानव स्वास्थ्यमा असर गर्ने क्रियाकलाप नियमन गर्ने व्यवस्था पनि छ।

यसअघि छलफलमा सांसद माधव सापकोटा, कान्तिका सेजुवाल, प्रेम सुवाल, प्रतिमा गौतम, हितराज पाण्डे, जावेदा खातुन लगायतले भाग लिएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक भदौ १९ गते बिहीबार दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्