जापान भ्रमणको उद्देश्य केवल ठाउँ हेर्नु र रमाउनु मात्र थिएन । हालको काठमाडौं मोडेल अस्पताल बनाउने तयारी गर्दै गर्दाको कुरा हो । म चीनबाट जापान जाँदा सरोज भने छोटो समयको निम्ति आफ्नो देश फर्केका थिए । नयाँ किसिमको स्वास्थ्यसंस्था स्थापित गर्ने उनको सपनाले बाटो साकार हुने बाटो खोज्दै थियो । साथीहरुसंगको सर–सल्लाहपछि एउटा खाका बनाएर उनी आफ्नो विद्यावारिधिको थेसिस डिफेन्स गर्न शाङ्हाई फर्के । हामी दुई बुढाबुढी भविष्यको अस्पतालबारे दुई देशमा बसेर कुरा गथ्र्यौं – उनी चीनमा म जापानमा ।

मेरा प्रत्येक जापानी मित्रहरु सक्दो सहयोग पु¥याउन तत्पर थिए । मेरो विश्वविद्यालमै भेट भएको अर्को एकजना हामी भन्दा अलि पाका मित्र ताजि–सानसँग भेट भयो । कोबेमै उनीसँग भेट हुँदा उनले मेरो उद्देश्य थाहा पाएर सुरु देखि नै सहयोग गर्ने तत्परता देखाए । मेरी छोरीको निम्ति भनेर एउटा राम्रो जापानी पुतली किनिदिए । मेरो निम्ति एउटा स्कर्ट पनि किनिदिए । अनि मलाई आफैले घुमाउने जिम्मा उनले नै लिईदिए ।
त्यही दिन अर्को साथी ओहाराको घर पनि नजिक भएकोले उनलाई पनि भेट्नु थियो । सरोज नेपालमा छँदा सुमनको माध्यमबाट भेटेका कुरा–उचि सिरोको घर खोज्न ताकाराजुका जाने र त्यहिँ पुगेर लन्च खाने पनि कार्यक्रम थियो । दिन उतै बिताउनु थियो ।
ताजि–सानले सबभन्दा पहिले ओहाराको घरमा लिएर गए । त्यही गाडीमा उनलाई पनि सँगै लिएर सँगसँगै ताकाराजुका पुग्यौं । एकदम सुन्दर ठाउँ रहेछ –पैसावालहरु बस्ने । कुराउचि–सानको घरमा पुग्दा अर्कै आनन्द आयो । उनी भर्खरै जस्तो नेपालबाट फर्केको र नेपालमा सरोज, सुमन र अरुसंग नयाँ अस्पताल बनाउने कुरा भएको बारे प्रत्यक्ष रुपमा कुरा भयो ।
उनले त्यसबारेको प्रस्ताविक डकुमेन्टहरु पनि ल्याएका रहेछन् । अरु सहयोग गर्न चाहनेहरुलाई पनि त्यो डकुमेन्ट दिएर कुरा गर्दा सजिलो हुने भएकोले त्यसको फोटोकपि मागेँ । उनी दिन तयार भए तर फोटोकपि गर्ने ठाउँ नजिकै थिएन । हाम्रो साथी ओहाराले त्यो लिएर आफ्नै घरमा फोटो कपि गरेर फिर्ता ल्याइदिने कुरा गरे । हामी तिनै जना फेरि ओहोराको घरमा गयौं ।
सुरुमा जाँदा घर मात्र देखेकी थिएँ । ठुलो घरको बैठक कोठामा एकछिन बसेर चिया खाएका थियौं हामीले । दोस्रो पल्ट फोटो कपि गर्न भनेर जाँदा भने उनको पुस्तकालय देखाए । ठुलो घरको निजी पुस्तकालय देख्ना साथ नै मेरो मन लोभियो ।
यति ठूलो र व्यवस्थित व्यक्तिगत पुस्तकालय मैले न नेपालमा न चीनमा न अन्य कुनै जापानी साथीहरुको घरमा नै देखेकी थिएँ ! पुस्तकालयभित्रै बसेर पढ्ने ठाउँ, काम गर्ने ठाउँ सबैको बन्दोबस्त रहेछ । फोटोकपि मेशिन त्यहीँ रहेछ । म छक्क परेर हेरिबसेँ । हेर्दाहेर्दै ओहाराले फोटो कपि गर्दै अरु प्रिन्ट पनि गरेर केही प्रति तयार गरि दिए मेरो निम्ति । मनमनै र मुखले पनि धन्यवाद भनें ।
कुरा बुझ्दा उनको बाबु आमा दुबै शिक्षित बुध्दिजीवि रहेछन् । बाबु त इतिहासका ठुलै प्रोफेसर रहेछन् । ठुलो जग्गामा रहेको कम्पाउण्डवाला घर, अनि सुन्दर बगैंचा पनि । उनको पुस्कालयमा अङ्ग्रेजी, जापानी, चीनियाँ भाषाका किताबहरु थिए ।
हेर्दैजाँदा टाढैबाट नेपालको कुमारीको तस्बिर भएको मोटो किताब पनि देखें । खुसी लाग्यो । “बुध्दिजीवी हुनु त यस्तो“ भनेजस्तो लाग्यो । त्यहीबेला एउटा ईच्छा जन्मियो मेरो मनमा – आफ्नो घर बनेपछि त्यस्तै एउटा पुस्तकालयको निम्ति पनि ठाउँ बनाउने …। हामीसँग राम्रो व्यवहार गर्ने ओहारा बाहिरबाट हेर्दा साधारण नै देखिन्थे । उनी त जापानको ठुलै घरका एक्लो छोरा पो रहेछन् ।
उनी पनि पछि त ठुलै प्रोफेसर भए । अब त रिटायर्ड पनि भइसके कि ! कुनै सम्पर्क छैन यतिबेला । उनको थरबारे पनि रोचक कुरा सुनेकी थिएँ । ओहोराले लेख्ने गरेको थर बाको नभएर आमाको रहेछ । जन्मिएको सन्तानको थर आमाको राख्नु पर्ने शर्तमा विवाह भएको ! रमाइलो लाग्यो ।
फोटोकपि गरेर हामी फेरि कुराउचि–सानको घरमा डकुमेन्ट पु¥याउन गयौँ । अनि बल्ल अरु ठाउँमा घुम्न गयौं । त्यही दिन ताजि–सानले ताकाराजुका र नजिकैका अन्य ठाउँहरु पनि देखाउँदै लगे मलाई । तर सबै ठाउँका नामहरु अब सम्झिन्न ।
सभ्य देशका सभ्य मान्छेहरुलाई आफ्नै साथी भन्न पाउँदा पनि मन दङ्ग थियो ।एकपछि अर्को सहयोग पाउँदै थिएँ । कुराउचि–सानको बायोडाटा बारे पनि ताजि र ओहोराको बीचमा कुरा भइरहेको थियो । उनी जापानको सरकारी कर्मचारी रहेछन् । नेपाल मन पराउने कुराउचि–सान त्यही बेला नै ४०–५० चोटी नेपाल पुगिसकेका थिए र नेपालका धेरै मान्छेहरु चिनेका थिए । जापान र नेपालको पुल भएर धेरै काम पनि गरिसकेका रहेछन् ।
अस्पताल बनाउन मात्र सहयोग गरेनन् उनले – अस्पतालको निम्ति नभई नहुने पहिलो एम्बुलेन्स् पनि उनकै माध्यमबाट पाएको हो अस्पतालले । अर्को गाडी पनि उनकै सक्रियतामा प्राप्त भएको हो । त्यो पुरानो पजेरो गाडी अझै कुनै कुनै बेला चढ्न पाइन्छ । चढ्ने बेला संधै सम्झन्छु उनलाई ।
हात्तीगौंडामा सानो घर किनेपछि मैले पनि आफ्नो निजी पुस्तकालय बनाउन कोशिस गरेकी थिएँ । जापानमा पलाएको त्यो रहर केही समय त पुरा पनि गरें । तर निन्तरता दिन सकिनँ । ठाउँ र व्यवस्थापनको अभावमा त्यो सपना भने पुरै साकार हुन सकेन ।
पछि त्यो हात्तीगौँडाको पुस्तकालयमा नै सहयोग गर्ने मान्छेलाई सुत्न ठाउँ दिनु प¥यो । अहिले पनि बेला बेलामा त्यो अतृप्त इच्छा जाग्छ मनमा । यो कुरा धैरै साथीहरूलाई सुनाएँ पनि, कसैको घर ठुलो छ भने एउटा कोठा पुस्तकालय होस् भनेर । आफ्नो त छैन, अनि आफूले आफैलाई सम्झाउँछु यहाँ के पो स्थिर र नित्य छ र !











