काठमाडौं । नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले खतिवडालाई उम्मेदवार बनाउने निर्णय भएको बताएका हुन् । नेकपा एमालेले भने उम्मेदवारी दिने छैन । यसकारण सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित हुने देखिन्छ ।

यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए । कुलिङ अफ पिरियडको गडबडीका सम्बन्धमा प्रतिवेदन आएपछि उनले राजीनामा दिएका थिए । त्यसपछि रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसकेकी छन् ।
न्यौपाने सुनुवाइ समिति सभापति छाडेर राज्य व्यवस्था समिति सभापति हुन गएकी हुन् । राज्य व्ययवस्था समितिको भापतिबाट राजीनामा दिएका खतिवडा सुनुवाइ समितिको सभापति हुने भएका छन् ।
संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि साँझ ५ बजे हुँदैछ । आज मनोनयन दर्ताको समय छ ।














