दमौली । बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) नामक ढुसीजन्य रोग देखिएको छ।

अनुगमनका क्रममा रोग देखिएपछि कृषकलाई सतर्क रहन गाउँपालिकाको कृषि शाखाले अनुरोध गरेको छ।
कृषि प्राविधिक सहायक दिनेश सुवर्णकारका अनुसार यो रोगले धानका बेर्ना सुकाउने, बाला मर्ने तथा उत्पादनमा ठूलो क्षति पुर्याउने गर्छ। रोग लागेमा पातमा सेता दाग, डाँठमा खैरो रङको थोप्ला देखिनुका साथै बाला सुक्ने लक्षण देखिन्छ।
रोग फैलन नदिन अघिल्लो वर्ष रोग नदेखिएको मूल बिउको छनोट, नुनपानी प्रयोग गरेर भुस छुट्याउने, र राम्रोसंग हिलो बनाएर घाम लाग्ने ठाउँमा बिउ राख्न सुझाव दिइएको छ। समस्या देखिएमा तत्काल कृषि प्राविधिक वा कृषि विकास शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।














