काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आलोचनात्मक चेतना लोकतन्त्रलाई सबल र समुन्नत बनाउन आवश्यक भएको बताए।

राजेश्वर नेपालीको ८३औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘राजेश्वर नेपाली अभिनन्दन ग्रन्थ’ लोकार्पण समारोहमा राष्ट्रपति पौडेलले लोकतन्त्र केवल शासन प्रणाली नभई जीवनशैली बन्नुपर्ने धारणा राखे।
उहाँले आम नागरिकमा आशा, भरोसा र सपना जागृत गराउँदै शान्ति, सुशासन र समृद्धिको लक्ष्यमा पुग्न सबै क्षेत्रबाट योगदान आवश्यक रहेको उल्लेख गरे। लोकतन्त्र र पत्रकारिता एकअर्काका पर्याय भएको भन्दै व्यावसायिक पत्रकारिताले लोकतन्त्र बलियो बनाउने धारणा व्यक्त गरे।
राजेश्वर नेपालीलाई राष्ट्रपति पौडेलले कट्टर लोकतन्त्रवादी, निर्भिक पत्रकार र प्रेरक व्यक्तित्वको रूपमा स्मरण गर्दै उहाँले निरङ्कुशताविरुद्ध कलमको साहसिक प्रयोग गर्नुभएको उल्लेख गरे।














