काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै “सरकार उल्टो बाटो हिँडेको छ” भन्ने टिप्पणी गरेका छन्।

सरकारको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस र डिजिटल अर्थतन्त्रमाथि प्रत्यक्ष प्रहार भएको बताउँदै थापाले निर्देशनका आधारमा सामाजिक सञ्जाल बन्द नगरी आवश्यक कानुन छिटो बनाउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जालसम्बन्धी कानून राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई छिटो पारित गर्नुपर्ने बताएका छन्। सर्वोच्च अदालतको निर्देशनअनुसार सामग्रीको अनुगमन, मूल्यांकन, दुरुपयोग रोक्न र जवाफदेही बनाउने कानुनी व्यवस्था गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
थापाका अनुसार, सामाजिक सञ्जाल नागरिक अधिकार, सूचनाको पहुँच, सामाजिक सम्बन्ध, उद्यमशीलता र डिजिटल अर्थतन्त्रसँग गहिरो रूपमा जोडिएको माध्यम हो। प्रतिबन्धले स्वतन्त्र अभिव्यक्तिमा संकुचन ल्याउने भन्दै उनले यस्तो कदम सन्तुलित र विवेकपूर्ण ढंगले पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।
उनले भनेका छन्, “सामाजिक सञ्जाल बन्द गर्नु होइन, सुरक्षित बनाउनु हो। दुरुपयोग रोक्न नियमनका लागि कानुनी पूर्वाधार निर्माणमा सरकार गम्भीर होस्।”














