काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार लोकप्रिय हुँदा त्यसलाई बदनाम गर्नका लागि भिजिट भिसामा मान्छे लाने जस्ता हल्ला चलाइएको दाबी गरेका छन् ।

ललितपुरमा शुक्रवारदेखि सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको शक्ति र लोकप्रियता बढ्दा केही शक्तिहरूले त्यसलाई कमजोर पार्न विभिन्न किसिमका षड्यन्त्र र गलत प्रचारबाजी गरेको बताए ।
उनले भने, ‘हाम्रो सरकारको लोकप्रियता बढेपछि, देश अगाडि बढ्न थालेपछि, हाम्रा कामकारबाहीहरू राम्रा हुन थालेपछि, कसैलाई मन नपरेर होला, भिजिट भिसामा मान्छे लाने भनेर हल्ला चलाइयो ।’
उनले यो प्रचारलाई पूर्ण रूपमा निराधार र कपोलकल्पित रहेको दाबी गर्दै भने, ‘यस्ता कुराहरूमा विश्वास नगर्न म सबै पार्टी कार्यकर्ताहरू र आम जनतालाई आग्रह गर्दछु । हामी कसैको पनि राष्ट्रिय हित र सार्वभौमिकतामाथि आँच आउने काम गर्दैनौँ, न त त्यस्तो हुन दिन्छौँ ।’
ओलीले आफ्नो सरकारले विदेश सम्बन्ध र अन्तर्राष्ट्रिय आयामहरूमा राष्ट्रिय हितलाई सर्वोपरि राखेको र कुनै पनि देशको दबाबमा नपरी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको जिकिर गरे ।














