काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशको अन्तरिम नेतृत्वका लागि तयार रहेको बताएका छन् ।
जेन–जी पुस्ताको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि उत्पन्न नेतृत्व संकटलाई सम्बोधन गर्न युवाहरूले डिजिटल प्लेटफर्म डिस्कोर्डमार्फत छलफल जारी राखेका छन् ।

नेपाली सेनाको जंगी अड्डामा भएको जेनजी प्रतिनिधिहरूको बैठकले पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्न प्रस्ताव गरेका थिए ।
कार्कीले जेन– जी समूहको प्रस्ताव स्वीकार गर्दै अन्तरिम सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छन् ।
भारतीय मिडिया न्युज–१८ सँगको कुराकानीमा उनले जेन–जी आन्दोलनपछिको परिस्थितिमा चुनावी सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताइन् ।
‘उनीहरू (जेन–जी)ले मलाई प्रस्ताव राखे । मलाई विश्वास गरे । म छोटो अवधिको लागि सरकार सञ्चालन गर्न सक्छु, चुनाव गराउन सक्छु। मैले स्वीकार गरें’ कार्कीले भनिन् ।
साथै, उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका अभिभावकका माग सम्बोधन गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
कार्कीले पहिलो प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण राख्ने बताउँदै भनिन्, ‘अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । तर विद्यार्थीहरूको मागअनुसार मलाई धेरै मत प्राप्त भयो । हामी उनीहरूको सहयोगमा सफल हुन्छौँ ।’
हर्क साम्पाङ नेतृत्व लिन तयार
धरानका मेयर हर्क साम्पाङले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै जेन–जी युवाहरूले नेतृत्वको जिम्मेवारी दिएमा प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन्।
जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए । त्यसपछि सेनाको मुख्यालयमा बालेनले नेतृत्व लिन नमाने हर्कले लिनुपर्ने भन्दै जेनजीहरुबिच विवाद भएको थियो ।
यस्तै, कुलमान घिसिङ, काठमाडौंका मेयर बालेन साह, सागर ढकाललगायतको नाममा पनि छलफल भएको थियो, तर कार्कीले सबैभन्दा बढी समर्थन पाएकी छन् ।
बालेन साह ब्याक !
अहिले धेरै युवाहरूले देशको नेतृत्व बालेन साहले लिनुपर्ने आवज उठाए पनि उनी भने केही ब्याक भएका देखिएका छन् । उनले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि बढाउन समर्थन जनाएका छन् ।
नेपालमा हालैको आन्दोलन र हिंसापछि काठमाडौँमा कर्फ्यू लागेको छ। यस्तो अवस्थामा सुशीला कार्की र हर्क साम्पाङजस्ता व्यक्तिहरूको नामले नयाँ आशा जगाएको छ।
जेन-जी पुस्ताको सक्रियताले देशमा गैर(राजनीतिक र सक्षम नेतृत्व स्थापित गर्ने सम्भावना बढाएको छ। अब यो प्रस्ताव कसरी अगाडि बढ्छ र देशले कस्तो दिशा लिन्छ, त्यो आगामी दिनमा प्रष्ट हुनेछ।
सम्बन्धित समाचार














