ललाइफकाई किशोरीलाई भारत लैजाने ६ युवक पक्राउ


Published On : 10 September, 2020

रौतहट, २५ भदौ । एक किशोरीलाई ललाइफकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका–७ चिरान चोकबाट गए राति १ बजे पक्राउ गरेको हो ।

बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शंका लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका–८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्