Logo
Logo

जसका कारण देश खरानीमा परिणत भयो


डा. दीपेश केसी

819
Shares

चाणक्यले भनेका छन्ः राज्यको धन चोर र राजनेताबाट जोगाउनुपर्छ । चोरबाट जोगाउन सुरक्षा कडा पारिनुपर्छ । राजनेताबाट जोगाउन नैतिकवान् बनाउनुपर्छ । नेपालमा राज्य धन जोगाउन असमर्थ भइसकेको प्रमाण जेनजी आन्दोलन अघि र उक्त घटनाका बेलामा प्रमाणित भएको छ ।

चोरको काम नै चोर्ने हो तर, नेपाली जनताले विश्वास दिएर अमूल्य मतद्वारा तीन दशकदेखि निरन्तर प्रतिनिधि बनाएका नेताहरू नै राज्यको धन चोरेर थुपारिइरहेका रहेछन् । जेन–जीको आन्दोलनका दौरान नेताहरूको घरमा भएको आक्रमणपछि राज्यबाट चोरिएका धनहर छरपस्ट भए । हजार दरका करोडौँ रुपैयाँ र अमेरिकी डलर जलेर नष्ट भए ।

नेपालको राजनीतिमा एउटा यस्तो पुस्ता थियो, जसको त्याग र बलिदानीबाट ३० वर्ष लामो पञ्चायती व्यवस्था ढल्यो । गणेशमान सिंहले प्रधानमन्त्रीको पद नै अस्वीकार गरेका थिए । अन्तरिम सरकारमा प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई बालुवाटारबाट बिदा हुँदा ट्याक्सीमा छाता र सुराई लिएर फर्किएका थिए ।

इमान जमान र सादगीपनका कारण भट्टराईप्रति तत्कालीन राजा वीरेन्द्र, निजामती कर्मचारी र सेनाका जर्नेलहरू पनि उच्च सम्मान गर्दथे । संविधान बनाउँदा राजाको अधिकार कटौती गर्ने कुरा सुनेर जर्नेलहरूको दलबलसहित भेट्न पुगेका तत्कालीन प्रधानसेनापति सच्चितशमशेर जबरालाई किशुनजीले ठट्टा गर्दै फर्काइदिएका थिए । नैतिक बलले किशुनजीले त्यो हैसियत बनाएका थिए । उनै किशुनजीले कांग्रेसले सिद्धान्त छाडेको भन्दै पार्टी नै छाडेको इतिहास साक्षी छ ।

मनमोहन अधिकारीको सादगीपनका कारण उनीप्रति राजा देखि राज्यका महत्त्वपूर्ण निकायमा रहेकाहरू उत्तिकै सम्मान गर्दथे । सुशील कोइराला विश्वकै गरिब प्रधानमन्त्रीको रेकर्ड राखेर गए । तर, त्यस्ता नेताहरूको छत्रछायामा हुर्किएका र सहकर्मीका रूपमा काम गरेका नेताहरूले भने इतिहासमै कलङ्कित हुने कुकार्य गर्न पुगे ।

जेनजी आन्दोलनकारीको आक्रमणबाट कतिपय नेताको घरबाट धनको भकारी भेटियो । आन्दोलनअघि नै कतिपयले विदेश र स्वदेशमा लुकाएका धनबारे छताछुल्ल भयो । तिनले राज्यको धन चोरेका मात्र रहेनछन् लुटेका रहेछन् भन्ने कुरा जेनजी आन्दोलनले पुष्टि ग¥यो ।

राज्यको धन यसरी लुटियो कि त्यसको फेहरिस्त सामाजिक सञ्जालमा छायो । नेताका सन्तान र परिवारको विलासी जीवन सार्वजनिक भयो । जसले युवामा आक्रोश बढायो । एनसेल कर छली प्रकरण, इम्बोस्ड नम्बर प्लेट भ्रष्टाचार प्रकरण, गिरिबन्धु टी स्टेट जग्गा प्रकरण, टेलिकमसम्बन्धी भ्रष्टाचार काण्ड, पासपोर्ट छपाई काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइड बडी काण्ड, मल काण्डलगायत काण्ड कति हो कति ।

अरबौं घोटाला भएका त्यस्ता काण्डबाट भ्रष्ट नेता र भ्रष्ट कर्मचारीले धनको भकारी भरेको खुलेको थियो । तर, उनीहरूमाथि कारबाही भएन । जो विरोध गर्छ उसैमाथि कारबाही गराइयो । नेताहरूमा न त नैतिकता रह्यो न त जनतासँग नेता डराए ।

चुनावमा पैसाको खोलो बगाएर जित्ने पुरानै शैली निरन्तरता दिने सोच बनाए । विनाशकाले विपरीत बुद्धि भने झैँ सामाजिक सञ्जालहरू बन्द गरिदियो ओली र देउवाको गठबन्धन सरकारले । युवा विद्यार्थीको आन्दोलनको आँधीबेहरीले सरकारलाई मात्र उडाएन ओली र देउवाको राजनीतिक भविष्य समेत समाप्त पारिदियो ।

जेनजी आन्दोलनले राजनीतिक भविष्य अनिश्चित बनेपछि मुख्य दलहरूका नेता कार्यकर्ता आकुल व्याकुल छन् । यो आन्दोलनलाई आन्तरिक र बाह्य षड्यन्त्रसँग जोडेर हेर्न थालेका छन् । सङ्गठित रूपमा दलहरू र तिनका नेताबाट देशमा भएको ब्रम्हलुटविरुद्धको विद्रोहलाई ओझेलमा पार्न उनीहरू यसो गर्दै छन् ।

आफ्नै पार्टीभित्रका अपराधीलाई कारबाही गर्ने देखि विगतका गम्भीर त्रुटिलाई सच्याउने कहाँ हो कहाँ उल्टै अरूलाई दोष दिने गतिविधि बढेको छ । आन्दोलनको अवमूल्यन गर्न खोजिएको छ । यसै पनि जनतासामु अलोकप्रिय बनिसकेका मुख्य दल र तिनका नेताहरू झन् बदनाम बन्ने क्रियाकलापमा लागेका छन् ।

नेताहरूले लुटतन्त्रलाई मलजल गर्न नक्कली राष्ट्रवादको फण्डाहरू धेरै निकाले । चील देखाएर चल्ला चोर्ने स्यालको शैली प्रमाणित भयो त्यो । उनीहरुको नक्कली राष्ट्रवादको फण्डाले देशलाई केही दिएन । न त देशलाई बलियो बनाउन सके न त समृद्धि । उल्टै गलत योजनाहरूका कारण देशले समस्या झेल्यो । दक्ष जनशक्ति पलायन भए । किशोरावस्थामै युवायुवती अघोषित घोषित रूपमा बेचिए ।

१८ पुग्नेवित्तिकै विदेशिन वाध्य भए जसको फाइदा विभिन्न भेषका मानव तस्करहरूले लिए । भिजिट भेषामा जाँदा घुस दिनुपर्ने विषय खुल्यो । देशभित्र भएका उद्योगधन्दा बन्द गरिए । रोजगारी गुम्यो । लगानी असुरक्षित भए । यसले युवाहरूमा विद्रोहको भावना जागृत भयो ।

शासकहरू लुटिरहे लुटिरहे । जनता निरीह हुन बाध्य भई लुटाइरहे । विद्रोहको ज्वालामुखी भित्रभित्र दबिएको थियो । जुन सडकमा एकैपटक देखियो । असन्तुष्टि दबाउन बल प्रयोग गरे । कलिला युवा विद्यार्थीहरूको रगत बग्यो । यही असन्तुष्टिको आगो २५ भाद्रमा दन्कियो ।

सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत मुख्य सरकारी भवनहरूमा आगो लगाए । नेताहरूको घर घर पुगेर आगो लगाए । यसमा पक्कै पनि घुसपैठ नभएको होइन । देश नै आगो लागेको जस्तो भयो त्यतिबेला । यो अवस्थालाई घुसपैठी र अपराधीको सक्रियतासँग मात्र जोडेर हेरिनु अर्को भुल हुन्छ ।

लोकतन्त्रमा नेताहरू शासक नभई सेवक हुनुपर्नेमा अत्याचार नै गर्न थाले । अन्याय र अत्याचारको घैंटो यति भरियो कि विस्फोटक अवस्था नै आयो । नेताहरू भागाभाग गर्नुपर्ने भयो । पंक्तिकारणले दृष्टिमै २०८१ को भाद्र अंकमा समयमै चेतौँ, नत्र पछुताउनु पर्ला शीर्षकमा नेताहरूको बुद्धिको बिर्को बेलैमा खुल्नुपर्छ । नत्र भाग्नका लागि एक घण्टा पनि बाँकी नरहने अवस्था हुनसक्छ भनी लेखेको थियो । ठिक एक वर्षपछि त्यस्तै भयो ।

देशमा खरबौँ नोक्सान हुनेगरी भएको आगजनीमा को को संलग्न थिए भन्ने छानबिनले देखाउला । तर, यसमा मुख्य दोषी नै सत्तामा लामो समय देखि बसेका नेता र तिनका आसेपासे नै हुन् । उनीहरूको नाङ्गो भ्रष्टाचार र अत्याचारी नीति यसको मुख्य कारक हुन् । जनतालाई भ्रममा पारेर र ढाँटेर भुल्याउन सकिने सोच उनीहरूलाई प्रत्युत्पादक साबित भएकै हो ।

चुनाव आयो कि पार्टी संगठनको गलत दुरुपयोगबाट मत प्रभावित पारेकै हुन् । ठूलो धनराशि खर्चिएर जनमतलाई प्रभावित पार्दै आए । तिनै जनामाथि अत्याचार गरे । त्यो लामो समय टिकेन । पार्टीभित्रका विरोधीमाथि कारबाहीको डन्डा लगाए । इमानदारहरू पाखा लगाए । चाकडी, चाप्लुसी गर्नेहरूलाई वरिपरि राखे । नेताको गलत कार्यशैलीको मूल्य देशले चुकाइरह्यो ।

नेपालको इतिहासमा युवा आन्दोलनले यति ठूलो भौतिक क्षति कहिले भएको थिएन । सत्तामा रहेकाले जे सोचेका पनि थिएनन् त्यो भयो । उनीहरूले सुरक्षा निकायको दुरुपयोग गर्दै आएका थिए । जेन जी आन्दोलन दबाउन सुरुको दिनमा दुरुपयोग गर्दा धेरैको रगत बग्यो ।

दोस्रो दिन सुरक्षाकर्मीले भौतिक क्षतिको मूल्य चुकाएर पनि युवाको रगत बग्न दिएनन् । बरु सुरक्षाकर्मीले ज्यान गुमाए । देशका प्रमुख भवनहरू आगो लाग्दा सिङ्गो देश नै बलेको जस्तो देखियो ।

भवनहरूलाई आहुति दिएर भएपनि सुरक्षा निकायले नेपाली जनताको ज्यान जोगायो । देशमा आगो लाग्नुको कारक नेताहरूको समेत प्राण जोगाइदियो । कठिन घडीमा तत्काल अर्को दुर्घटना टरेको छ । तर, खतरामुक्त छैन देश । असन्तुष्टि र आक्रोशको आगो निभाउनुपर्ने दायित्व सबैमा छ ।

हेर्दा राम्रो र सुन्दा आनन्द लाग्ने संविधानका कतिपय धाराहरू देशको हितमा छैनन् । देशले धान्न नसक्ने शासकीय प्रणाली लादिएको छ । निर्वाचन प्रणाली अस्थिरता बढाउने खालको छ । जनताभन्दा बढी नेता बन्ने प्रणाली कसैको इशारामा ल्याइएको छ । देशको धर्म, संस्कृति, रीतिरिवाज, परम्परा, भाषा, लिपि, संवत् नाश गर्ने भष्मासुर शैली सत्ताको नेतृत्व गर्नेहरूको रहँदै आयो ।

विश्वमै नभएको नेपाल राष्ट्रको पहिचानहरू केही अर्बको लोभमा नामेट पार्दै लगे । नेताहरूले आफू चढेको रुखको हाँगा आफै काटे । देश जल्नुमा सत्तामा जो बसे उही जिम्मेवार हुन् । देशको इतिहास, भूगोल, राजनीति, भूराजनीति, पृथक् पहिचान, सामाजिक संरचनालगायत महत्त्वपूर्ण विषयहरू बेवास्ता गर्ने शासकका कारण सिङ्गो देशले जल्नुपर्ने परिस्थिति आइलाग्छ । त्यस्ता शासकलाई सत्तामा पु¥याउने मौका कहिले दिनुहुँदैन । फेरि यस्तो कहिले नहोस् ।

प्रतिक्रिया दिनुहोस्