काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

बैंकको केन्द्रीय कार्यालय, कमलपोखरीसहित कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको छिन्चु (सुर्खेत) र सुदूरपश्चिम प्रदेशको धनगढीमा एकै साथ रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा बैंकका कर्मचारी र शुभचिन्तक गरी कुल ४६३ जनाले रक्तदान गरेका थिए । यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सञ्जीव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरूलाई धन्यवाद दिँदै, मानव जीवनको रक्षाका लागि अत्यावश्यक रगत संकलन गर्ने यस्तो पुण्य कार्य गर्न पाउँदा खुसी लागेको बताए ।
बैंकले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरू निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।











