Logo
Logo

दक्षिण एशियामा विद्रोहको लहर, तर सत्ता किन बदलिँदैन ?


डा. दीपेश केसी

1.3k
Shares

२०२१ को अगष्टमा एउटा दृश्य थियो काबुल विमानस्थलको । अमेरिकी सैनिक विमान उड्नलाग्दा अफगानीहरू वरिपरि झुम्मिएका थिए । त्यो दृश्यलाई अमेरिकी सेनाले अफगानिस्तान छाड्नुपरेको मात्र नभई विश्व राजनीतिमा उसको प्रभाव खस्कन लागेको घटनाका रुपमा हेरिएको थियो ।

अमेरिका र रुसको टकरावले बाह्य हस्तक्षेपको अखडा बनेको थियो अफगानिस्तान । रुसलाई अफगानिस्तानबाट खेद्न अमेरिकाले तालिवानको प्रयोग ग¥यो । ठिक २० वर्षपछि २०२१ मा रुसले पनि तालिवानलाई प्रयोग गरेर अमेरिकी सेनालाई खेद्यो । अमेरिका र रुसबीचको विश्वभरको प्रभावले अफगानिस्तान जस्ता देशहरूमा हिंसाको डढेलो लाग्यो ।

रुसको साथ पाएको कम्युनिष्ट शक्तिलाई फालेर अमेरिकी साथ पाएका तालिवान १९९६ मा शक्तिमा आएका थिए । शक्तिराष्ट्रको टकरावबीच सांस्कृतिक अतिक्रमणको चपेटामा पनि प¥यो अफगानिस्तान । विश्वकै सम्पदा रहेको संसारकै अग्लो बुद्धमूर्ति पनि तालिवानले २००१ मा बमले उडाइदिए ।

कुनैबेला हिन्दू र बुद्ध धर्मालम्बी बाहुल्य अफगानिस्तान अहिले झण्डै शतप्रतिशत मुस्लिम बाहुल्य भइसकेको छ । हिन्दू र बौद्धको जनसंख्या केही सय मात्र बाँकी छ । महिलाहरू बुर्कामुनी रहन वाध्य छन् । विद्यालय जान पाउँदैनन् । कहिले रुस त कहिले अमेरिका, बेलायतलगायत पश्चिमा सेना छिरेर अफगानिस्तानको जुन गति बनाए त्यो लुक्न सक्दैन ।

फेरि अमेरिकाले सैन्य अखडा पुनःस्थापना गर्न चाहेको छ अफगानिस्तानमा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बग्राम सैन्य अखडामा पुनः नियन्त्रणको चाहना व्यक्त गरेका छन् । उनले चीनले आणविक हतियार बनाइरहेको स्थानबाट उक्त सैन्य अखडा मात्र एक घन्टाको दूरीमा रहेको समेत उल्लेख गरेका छन् । बग्रामलाई चीन लक्षित बनाएर अमेरिका प्रस्तुत हुन चाहेको छ ।

रुस, चीन र भारतका नेताहरूको सांघाई कोअपरेशन अर्गनाइजेशनको बैठकमा एकसाथको उपस्थितिपछि अमेरिका झन् आक्रमक देखिन थालेको छ एशियामा । कतै खुलेआम त कतै छद्म शैलीमा अमेरिकी कदमहरूको असर दक्षिण एशियामा परेको छ । भारत र चीनलाई रुसी तेल, ग्यास र कोइला खरिद गरेको भन्दै ट्रम्पले ट्यारिफ बढाइदिए । यी देशहरूको छिमेकमा अमेरिकाले आफ्नो प्रभाव देखाइरहेको छ विभिन्न शैलीमा ।

विशेषगरी दक्षिण एशियाका विभिन्न देशको अस्थिरतामा अमेरिकी भूमिका लुकेको छैन । बंगलादेशको विद्यार्थी आन्दोलनलाई सघाऊ पुग्ने गरी वाइडेन प्रशासनका बखत युएसएआइडीको सहयोग रकम दुरुपयोग भएको विषय पनि आयो । बंगलादेशमा उदारवादी र वामपन्थीलाई मलजल गर्न करोडौं डलर दुरुपयोग गरेको आरोप स्वयं ट्रम्पले लगाएका थिए ।

नेपालको पछिल्लो सत्तापलटमा पनि अमेरिकी भूमिकाबारे उल्लेख नभएका होइनन् । नवभारत टाइम्सको एउटा रिपोर्टमा अमेरिकाले सत्तापलट गराउन ९० करोड डलर खर्च गरेको उल्लेख छ । उक्त रिपोर्टमा एनजिओलाई दुरुपयोग गरी हिंसा भड्काइएको भनिएको छ । ट्रम्पनिकट अमेरिकी खोलमूलक पत्रकार लाउरा लुमरले राजदूत डिन थोम्सनलाई जोडेर युएसएआइडीद्वारा प्रेरित भ्रष्टाचारका कारण युवाविद्रोह भएको एक्समा लेखेकी छिन् ।

भारत र चीन नजिकका देशहरूमा एकाएक बदलिएको राजनीतिक घटनाका पछाडि त्यहींका भ्रष्ट नेताहरूको गलत नीति मुख्य कारण हुन् । त्यस्ता भ्रष्ट नेतालाई शक्तिराष्ट्रले नै आफ्नो निहीत स्वार्थ पूरा गर्न साथ दिइरहे । विशेषगरी अमेरिकालगायत पश्चिमा देशहरूबाट ओइरिने सहयोग रकम भ्रष्ट नेतानिकट एनजिओमा पुगे । त्यसको व्यापक दुरुपयोग भएको तथ्य छताछुल्ल भइसकेको छ ।

अहिले तिनै भ्रष्ट नेताविरुद्ध दक्षिण एशियाका देशहरूमा विद्रोह उठ्यो । श्रीलंका, बंगलादेश हुँदै नेपालमा उस्तै शैलीमा विद्रोह उठ्यो । तर, विद्रोहपछि सत्तामा आन्दोलनकारी पुगेनन् । यो रहस्यमयी बनेको छ आम नागरिकका लागि । सामरिक महत्वको नेपालमा विगतदेखि वर्तमानसम्मको सत्ता पलटमा आन्तरिक कारण मात्र रहेन । बाह्य शक्तिको शक्तिसंघर्ष पनि कारक रह्यो । बदलिंदो घटनासँगै नेपालमा बलिया देशहरूको शक्तिसंघर्ष पेचिलो बन्दै जाने देखिन्छ । यसले विभिन्न घटना र परिघटना निम्त्याउने नै छ । नेपालले अस्थिरतासँगै इतिहासकै कठिन चुनौतीको सामना गर्नुपर्ने स्पष्ट छ ।

पृथ्वीनारायण शाहले भनेजस्तै दुई ढुंगाबीचको तरुल नेपाललाई सजिलो कदापि छैन । भारत र चीनको विश्व राजनीतिमा आक्रामक उपस्थिति घाम जत्तिकै छर्लंग छ । अमेरिकाको यी दुई देशप्रतिको कडा नीतिपछि रुसी विदेशमन्त्री सेरगेई लाभरोभले ट्रम्पको केही नलाग्ने अभिव्यक्ति दिएका छन् । भारत र चीन प्राचीन सभ्यता हुन् भन्दै सभ्यतासँगको टकरावको नतिजा भविष्यमा देखिने भनेका छन् । दुवै सभ्यताको बीचमा रहेको नेपालले पूर्वीय दर्शन र वैदिक सनातन सभ्यतालाई सबैभन्दा बढी संरक्षण गरेको इतिहास साक्षी छ ।

लक्ष्मीप्रसाद देवकोटाले के नेपाल सानो छ निबन्धमार्फत् नेपाललाई सभ्यताको केन्द्र मानेर ‘‘भारतमाताको मुटु’’ भनेका छन् । सनातन हिन्दू बौद्ध, किराँत, जैनलगायत दर्शन यही सभ्यताको जगमा फैलिए । राजनीतिक रुपमा भारतवर्षका धेरै राज्य कहिले मुगल त कहिले इशाईहरुबाट पराजित भए । तर, नेपाल यस्तो देश रह्यो जो कहिले पराजित भएन ।

पूर्वीय दर्शन मौलाएको भूगोलको मुटुको रुपमा नेपाल सदैव रह्यो । दक्षिणतर्फको विशाल समथर भूमिको विशाल जनसंख्यामाझ अभ्यास भइआएको हिन्दू संस्कृति अनि उत्तरतर्फको जटिल भूगोलमा अभ्यास गरिएको बौद्ध संस्कृतिको बीचमा नेपालको अस्तित्व रहँदै आयो ।

ऋषिमुनीको तपोभूमि अनि बुद्धको जन्मस्थलका रुपमा परिचित रह्यो । यही भूमिबाट पूर्वीय दर्शनको प्रकाश एशियाभर फैलियो । नेपालको यो पहिचान, यथार्थ अनि प्राचीन सभ्यताको मुख्य दुई शक्ति भारत र चीनबीच हुनु वरदान मात्र नभई चुनौती पनि बन्दै आएको छ । भारत र चीनका सीमा क्षेत्रमा बदलिंदो जनसंख्या अनि शंकास्पद गतिविधिहरु सबैभन्दा बढी चुनौती बन्न सक्छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको स्वतन्त्रता दिवसमा लाल किल्लामा उभिएर सीमाको जनसांख्यिक परिवर्तनलाई सुरक्षा चुनौती भने । चीनले पनि सीमा क्षेत्रमा सुरक्षा चुनौती देखिइसकेको छ । नेपालसँगको सीमा क्षेत्रमा पनि बदलिएको जनसांख्यिक तथ्यांकबारे भारतीय पक्ष उत्तिकै गम्भीर देखिन्छ ।

विशेषगरी ३० वर्षमा सीमा क्षेत्रका जिल्लाहरूमा गैरहिन्दू जनसंख्या दोब्बरले वृद्धि भएको तथ्यांक छ । चीनले पनि स्वतन्त्र तिब्बतका गतिविधिहरुको लुकेका पाटाहरु झन् उघ्रेको देखिसकेको छ । नेपाली भूमिको दुरुपयोगको खतराहरु छरपष्ट छन् । बलिया देशहरुबीच सिधा युद्ध नगरी वरिपरिका छिमेकबाट चुनौती दिने गतिविधि आधुनिक विश्वको सर्वाधिक प्रयोग भएको युद्धनीति हो । रुसले अमेरिकाको वरिपरिका देशहरु क्युबा, भेनेजुयलामार्फत् चुनौती दिने गरेकै छ ।

अमेरिकालगायत यूरोपका शक्तिशाली देशहरुले पनि युक्रेन, पोल्याण्डलगायतलाई रुसविरुद्ध प्रयोग गरिरहेका छन् । अफगानिस्तानमा रुस र अमेरिकाबीच टकराव कायमै छ । भारत र चीनलाई चुनौती दिन अमेरिकालगायत यूरोपका शक्तिशाली देशहरुले ती देशहरुको छिमेकमार्फत् दबाब बढाउने गरेका छन् । दक्षिण एशियामा पाकिस्तान त अमेरिकाको बलियो कार्ड बनेको ट्रम्पले शक्तिशाली सेनापति असिफ मुनिरलाई व्हाइट हाउसमा लन्च मिटिङ गरेर पुष्टि भइसकेको छ ।

भारत र चीनको चमत्कारिक आर्थिक प्रगति, सैन्य शक्तिमा वृद्धि, जनसंख्याको शक्ति, उर्वर जमिनमा हुने उत्पादन, तिव्र विकास, डायस्पोराको शक्ति अमेरिकालगायत पश्चिमा शक्तिका लागि ठूलो चुनौती बनिरहेको छ । सी चिनफिङ, नरेन्द्र मोदी र पुटिनले एकसाथ जोडिएर विश्व व्यवस्था बदलिएको र अमेरिका विश्व शक्तिको केन्द्र नरहेको सन्देश दिए । तर, प्रभाव कमजोर हुँदै गएपनि ट्रम्पको अमेरिकालाई पुनः महान बनाउने अर्थात् विश्वको एकमात्र महाशक्ति कायम राख्ने महत्वाकांक्षाले शक्तिशाली देशहरुबीच टकराव बढ्न थालेको छ ।

रुस त पश्चिमा शक्तिसँग घोषित अघोषित युद्धमै छ । १६औं शताब्दीबाट विश्वभर दबदबा बनाइरहेको पश्चिमा सभ्यता २१औं शताब्दीमा आइपुग्दा प्रभावहीन बन्ने दिशामा छ । भारतवर्ष र चिनियाँ सभ्यतासँग उसको सिधा टकराव छ । यो टकरावको कम्प पराकम्प देवकोटाले भनेको ‘‘भारतमाताको मुटु’’ अर्थात् वैदिक सनातन सभ्यताको मुटु नेपालमा पर्ने नै भयो ।

नेपाली समाज र यहाँका शासकले यो कम्प पराकम्पलाई कसरी सामना गर्ने हुन् त्यसले नै नेपालको भविष्यको मार्ग कोरिन्छ । इतिहासमा कहिले विदेशीको अधिनमा नपरेको नेपालमा कुनै किसिमको क्षति पुग्नु वैदिक सनातन सभ्यता नै धरापमा पर्ने खतरा पनि हो । उत्तरतर्फको सभ्यतामा पनि यसको असरबाट मुक्त हुँदैन ।

प्राचीन पूर्वीय सभ्यताको उर्वरभूमि नेपालको सार्वभौमिकता, अखण्डता, सुरक्षा, शान्ति र स्थायित्व नेपाल र नेपालीको भविष्यसँग जोडिएको विषय हुँदै हो । पूर्वीय सभ्यताको भविष्यसँग पनि जोडिएको विषय हो । सनातन सभ्यता ध्वस्त पार्न खोजिदा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर रक्षा गरेको इतिहास साक्षी छ ।

तसर्थ, नेपालको भविष्य सनातन सभ्यतासहित पूर्वीय सभ्यताको भविष्यसँग पनि जोडिएको छ । जसरी पृथ्वीनारायण शाहले नेपाललाई ‘‘असली हिन्दूस्थान’’ भनेका थिए । त्यसरीनै, अखण्ड, शान्त र समृद्ध नेपाल वैदिक सनातन सभ्यताको वास्तविक मोडल बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्