
दसैँ, नेपालीहरूको लागि केवल चाड मात्र होइन, यो भावनाको पर्व हो । परिवारको पुनर्मिलन हो । पुराना सम्झनाको पुनरावलोकन हो । र, जीवनको गहिरो भावनात्मक पाटो हो ।
दसैँ नजिकिँदै जाँदा शहरको धुलो, धुवाँ र कोलाहलले थाकेका मनहरूले गाउँको माटोको न्यानोपन खोज्न थाल्छन् । शहरको भागदौड र यान्त्रिक जीवनलाई केही समयका लागि बिर्सेर गाउँको न्यानो आँगनमा भुल्छन् । यो समयमा शहरको कोलाहल छोडेर गाउँको शान्त वातावरणमा रमाउनुको मज्जा नै बेग्लै हुन्छ । वर्षभरि विभिन्न ठाउँमा व्यस्त जीवन बिताउने हजारौँ मानिसहरू दसैँमा गाउँ फर्किन्छन् । बालक होस् या वृद्ध ! सबैलाई दसैँमा गाउँले नै तान्छ ।
दसैँ सुरु भएसँगै सहरको रुप बदलिएको छ । मानिसहरू आफ्ना आ-आफ्ना थातथलो फर्किन थालेका छन् । सहरका भीडभाड सडकहरू सुनसान बन्दै गएका छन् । ठूला घरहरू रित्तिँदैछन्, पसलहरू बन्द हुँदैछन् । अफिसका कोठाहरूमा पनि खालीपन हुँदै गएको छ । होटेल र रेस्टुरेन्टहरूमा पनि चहलपहल घटेको छ । सहरी जीवनको त्यो चिरपरिचित भिडभाड हराउँदै गएको छ । मानौँ, सहर शून्यतामा विलीन भइरहेको छ ।
तर उता गाउँमा भने बिलकुलै फरक दृश्य छ । सुनसान घरहरू अब हाँसो र उत्साहले भरिँदैछन् । धुलो जमेको धुसुरे घरलाई सफा गरी चिटिक्क पारिएको छ । आँगनमा टोलभरिका बालबालिकाको हाँसो गुञ्जिन थालेको छ । सहर भासिएका सन्तानहरू गाउँ फर्किएका छन् । बुढाबुढी बाआमाका अनुहारमा हाँसो फर्किएको छ ।
चुलोमा मिठा परिकार पाक्न थालेको छ । घर वरिपरी धानका बाला झुलेको छ । सयपत्री र मखमली फूलमा सुगन्ध फैलिएको छ । ठिटाठिटीहरू ‘चचहुईँ’ मा रमाउन थालेका छन् । पुराना साथीहरूको भेट भएको छ । वर्षौको दुःख साटिरहेका छन् । बच्चाहरूको रमाइलो त अझ छुट्टै । नयाँ लुगा, खेलौना र मीठा परिकारले उनीहरूको दसैँ विशेष बनाइदिन्छ ।
सहरको रित्तोपन र गाउँको भरिपूर्णता केवल मानिसको आवतजावतको दृश्य मात्र होइन, यसमा भावनाको गहिरो लहर लुकेको हुन्छ । सहरमा घाममुनि पसिना बगाएर कमाइ गर्ने, किताबका पानामा भविष्यको बाटो खोज्ने, सपना बोकेर संघर्ष गर्नेहरू यहीबेला गाउँ फर्कन्छन् ।
गाउँ फर्कनु केवल घर जानु होइन । किनकि त्यो गाउँमा केवल घर छैन, त्यहाँ त उनीहरूको अस्तित्वको जरा गाडिएको छ, एउटा इतिहास बाँचिरहेको छ, एउटा बाल्यकाल अझै मुस्काइरहेको छ । जहाँ आमाको हातको खाना, बाबुको टिका, दिदीबहिनीको मिठो झगडा, साथीहरूको पिङ सबै बाँकी छन् ।
गाँउ र सहरका दसैँमा आकाश पातल फरक छ । सहरमा दसैँ प्रायः आधुनिक ढङ्गले मनाइन्छ । सपिङ मल, रेस्टुरेन्ट, नयाँ ग्याजेटहरू, ब्रान्डेड लुगा आदिमा केन्द्रित हुन्छ । तर गाउँको दसैँ अझै पनि भावनात्मक, पारिवारिक र सांस्कृतिक पक्षमा केन्द्रित छ ।
गाउँको दसैँमा सामूहिकता पाइन्छ । मिलेर पिङ हाल्ने, मासुको भेजो हाल्ने, टीका लगाउने, सँगै खाने/रमाउने यी सबै कुराहरू अमर बन्छन् । यही हो गाउँको दसैँ-जहाँ चाड केवल चाड हुँदैन, जीवनका गहिरा भावनाहरू एकैसाथ भेटघाट गर्छन्, पुनर्मिलन गर्छन् ।
तर यो दृश्य सधैं यति रमाइलो र चहलपहलको मात्र हुँदैन । अहिले देशका कयौँ गाउँहरूमा यस्तो पीडादायी अवस्था देखिन्छ, जहाँ घरका ढोकाहरू थुनेर मानिसहरू टाढा-टाढा बसिरहेका छन् ।
केही वर्षअघिसम्म गाउँहरू जीवन्त थिए- ढुङ्गा र खरले छाएका घरहरू । संयुक्त परिवारको हाँसो– खेल र झगडासमेतमा जीवनको सुन्दरता लुकेको हुन्थ्यो । दसैँ र तिहारजस्ता चाडपर्व आउँदा घरका आँगन सेतो कमेरो र रातो माटोले लिपपोत गरिन्थे, जसले गाउँलाई नै उज्यालो बनाइदिन्थ्यो । करेसा बारीका तरकारी, खेतका सुन्तला, धानका बाला, उखुबारीका मीठा गन्ध, र गोठका गाईभैँसीका घण्टीको आवाज-सबैले गाउँलाई एउटा विशेष आत्मा दिएकाे थियाे ।
तर आज, ती आत्माहरू यतिबेला सुनसान छन् । धेरै गाउँका घरका छाना भत्किसकेका छन्, भित्तामा कमेरो होइन, केवल चिरा छन् । टोलमा बालबालिकाको चञ्चल हाँसो छैन, वृद्धहरूको गफ छैन । आँगनका चूल्होमा धुवाँ उड्दैन, केवल चिसो खरानी बाँकी छ ।
देशका लाखौँ युवा काम र सपनाको खोजीमा विदेशिएका छन् । अब दसैँ उनीहरूको लागि केवल मोबाइल स्क्रिनभित्र सीमित भएको छ । फोनमा पठाइने शुभकामना सन्देश, भिडियो कलमा देखिने टिका र आशीर्वादका आँसु । कतै आँगनमा टीका थाप्न छोरा छैन, कतै आशीर्वाद दिन बा-आमा छैनन् ।
यस्तोमा दसैँ मनाउने उमङ्ग र मिठास खुम्चिएर पीडाको गाँठो बनेको छ । दसैँको चहलपहल होइन, बरु गाउँका सुनसान गल्ली र पुराना घरका खँडहरहरूले परदेशिएको पुस्ताको तस्बिर कोरिरहेका छन् । अब गाउँ रित्तो छ, तर त्यस रित्तोपनमा हजारौँ अधुरा सपना र अपूर्ण चाडपर्वको आवाज प्रतिध्वनित भइरहेको छ ।
अब हामीले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ । के दसैँको गाउँ फर्काइ केवल एउटा ‘परम्परा’ बनेर मात्र सीमित हुने हो ? के हामीले गाउँसँगको सम्बन्ध केवल वर्षमा एक पटकको लागि मात्र कायम राख्ने हो ? हामी कहिलेसम्म गाउँका पाहुना बनिरहने ?
यदि हामीले गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्न सकेनौँ भने भविष्यमा दसैँमा फर्किने गाउँ नै बाँकी रहने छैन । परम्परागत गाउँहरू शून्य हुँदै जान्छन् । पुराना घरहरू भत्किन्छन्, पिँढीहरू झर्छन्, रीतिरिवाज हराउँछन् ।
सहर रित्तियो भने फेरि भरिन्छ । तर, गाउँ रित्तियो भने त्यो परम्पराको अन्त्य हो । त्यसैले हामीले केवल दसैँका लागि गाउँ फर्किनु हुँदैन, हामीले त्यो गाउँ बाँचिरहने बनाउनुपर्छ ।
हामी हरेक वर्ष दसैँमा नयाँ लुगा किन्छौँ, नयाँ मोबाइल किन्दछौँ, आफन्तसँग टीका थाप्न गाउँ पुग्छौँ । तर के हामी एकपटक भए पनि त्यो घर टिकिरहन्छ कि भत्किन्छ भनेर सोच्यौँ ? त्यो चुलोमा अझै धुँवा उड्छ कि उड्दैन भनेर बुझ्यौँ ?
दसैँ केवल चाड मात्र होइन, त्यो एउटा चेतना हाे। यो चेतना हामीलाई हाम्रो जरा, हाम्रो पहिचान, हाम्रो माटो सम्झाउँछ । हामीले त्यो चेतनालाई बाँचिराख्न सकेनौँ भने एकदिन हामीसँग दसैँको चाड त रहला, तर गाउँको आत्मा हराइसकेको हुनेछ ।
दसैँले हामीलाई सम्झाउँछ-हाम्रो अस्तित्व केवल कंक्रिटका पर्खाल र व्यस्त सहरका सडकमा सीमित छैन । त्यो हाम्रो बाल्यकालको स्मृतिमा छ-धुलो उडाउने गाउँका बाटोहरूमा, खेतका हरिया गह्राहरूमा, खोला किनारमा खेलिएका खेलहरूमा, अनि आमाको न्यानो हात र बुबाको गहिरो आशीर्वादमा ।
दसैँ आउँदा गाउँको आँगन फेरि रमाइलोले भरिन्छ, रित्तिएको घरमा चुलोको धुवाँ फेरि उठ्छ, बरामदामा टिका लगाउने पालो बस्छ । यो केवल चाडपर्वको विधि होइन, टुटिन थालेका सम्बन्धलाई गाँस्ने एउटा अमूल्य अवसर हो ।
सहरले हामीलाई रोजगारी, सुविधा र आधुनिक जीवन दिन सक्छ, तर गाउँले हाम्रो आत्मा र पहिचान बोकेको हुन्छ । दसैँ त्यो क्षण हो जब हामी भुलिसकेको आफ्नै कथा फेरि पढ्न गाउँ फर्कन्छौँ, आफ्नै अस्तित्वलाई पुनः भेट्न फर्कन्छौँ ।
यसैले, दसैँमा सहर रित्तिनु र गाउँ भरिनु केवल मान्छेको आवतजावत होइन, यो हाम्रो संस्कृतिको पुनरागमन हो, हाम्रो जरा खोज्ने यात्रा हो । जब हामी गाउँ फर्किन्छौँ, हामी केवल चाड मनाउन मात्र फर्किरहेका हुँदैनौँ, हामी आफैँलाई सम्झन, बचाउन र पुनः जीवन्त बनाउन फर्किरहेका हुन्छौँ ।











