Logo
Logo

एसपी सरुवामा धर्मगुरुको पावर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० भदौ । जिल्लामा सिडिओ र प्रहरी प्रमुखको सरुवामा नेताहरुको चलखेल हुन्छ नै । कतिपय अवस्थामा धर्मगुरुहरु समेत सक्रिय हुने गरेका छन् । धर्मगुरुकै कारण बाग्लुङका एसपी शारदा प्रसाद चौधरी पाँच महिनामै सरुवा भएका छन् । स्वामी कमलनयन आचार्यको कारण उनको सरुवा भएको हो ।

आचार्यकै योजनामा बाग्लुङको पञ्चकोटमा धाम निर्माणको काम भइरहेको छ । धाम निर्माणका लागि करिब १८ करोड संकलन भइसकेको छ । सो पैसामा अनियमितता भएको विषयमा विवाद भइरहेको छ ।

धाम निर्माणका लागि ऋषि प्रपनाचार्यको अध्यक्षतामा सञ्चालक समिती रहेको छ । त्यहाँ नजिकै मुक्तिनाथ बेदबिधाश्रम पाठशाला समेत रहेको छ । त्यहाँ दलित बिद्यार्थी पनि पढ्न पाउनुपर्ने भन्दै विवाद भएको थियो । विश्व हिन्दु संगठनका नेता चन्द्रकान्त पौडेलले दलितका बिद्यार्थी पनि पढाउनुपर्ने बताएका थिए । तर, प्रपन्चार्यले त्यसको विरोध गरेपछि विवाद भएको थियो । दलितमाथि जातीय छुवाछुत गरेको विवाद भएपछि घटना प्रहरीसम्म पुग्यो र पछि मिलापत्र भएको थियो । एसपीको सरुवा हुनुको कारण यही रहेको बताइएको छ ।

पछि पौडेलले सो विषयमा सामाजिक सञ्चालनमा केही स्थानीयविरुद्ध स्टाटस लेखेपछि विवाद भएको थियो । गत २४ गते पौडेल पक्राउ पनि परे । पछि माफि मागेर उनी सहमतिमा छुटेका थिए । एक समूह पौडेललाई थुनाउन लागिपरेको थियो । सो कुरा नमानेपछि एसपीविरुद्ध कमलनयन आचार्य प्रयोग गरी सरुवा गरिएको स्रोत बताउँछ । कमलनयन आचार्यको प्रचण्ड लगायतका ठूला नेतासँग कनेक्सन छ ।

साथै केही स्थानीय नेता र बिचौलियासँग साँठगाँठ नहुँदा पनि उनी सरुवामा परेको चर्चा बाग्लुङमा छ स्थानीय बिचौलिया सोम पाठक पनि एसपीविरुद्ध लागेका थिए । आफ्नो सिफारिस नमानेको भन्दै प्रदेश सांसद इन्द्रलाल सापकोटाले पनि एसपीविरुद्ध माथिल्लो निकायका कुरा लगाएका थिए ।

एसपी चौधरीका पनि केही कमजोरी थियो । उनी कार्यालयमा भन्दा धेरै समय क्वाटरमा बस्दथे । जसकारण सिडिओ सुरेश न्यौपानेसँग पनि सम्बन्ध बिग्रिएको थियो । बाग्लुङमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ । उनी यसअघि जिप्रका मकवानपुर तथा कमलपोखरी वृत्त हुँदा कारबाहीमा परी सरुवा भएका थिए । इन्सपेक्टरमा त उनी निलम्बनमै परेका अधिकृत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्