Logo
Logo

प्रहरी कार्यालयभित्रै व्यापारदेखि तस्करीसम्म


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० भदौ । सुदुरपश्चिम प्रदेशको प्रहरी विपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा अनियमितता र अराजकता बढेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक रामबहादुर चन्द र सुबेदार मेजर सइ राजेन्द्रबहादुर कुमालले गुल्मभित्रै व्यापारदेखि काठ तस्करीसम्मको काम गर्दै आएको प्रहरीहरु बताउँछन् ।

सामान्यतया गुल्मपति एक वर्षमा सरुवा हुनेमा इन्स्पेक्टर चन्द दुईवर्षदेखि एउटै कार्यालयमा छन् । उनी, कञ्चनपुरकै स्थानीय बासिन्दा हुन् । गुल्ममा सरुवा भएर आएदेखि उनको ध्यान काममा भन्दा अतिरिक्त कमाइमा छ । उनले गुल्मभित्र रहेको घाँसेमैदानको फाइदा उठाउँदै भैँसी र बाख्रापालन व्यवसाय गर्दै आएका छन् । सरकारी कार्यालयमा भैंसी र बाख्राहरुको स्याहारसुसार गर्नसमेत प्रहरी खटाएका छन् । कार्यालयमा उनले तीन वटा भैंसी, ३ वटा खसी र एउटा गाई पालेका छन् । त्यसकै लागि मात्र एक महिला प्रहरी खटाइएको छ । जनताको सुरक्षाका लागि भनेर भर्ना भएका प्रहरी यतिबेला गोठालो बन्न बाध्य छन् ।

इन्सपेक्टर चन्दले काठ तस्करी समेत गरेको स्रोत बताउँछ । गुल्मभित्र पहिलेदेखि नै केही सिसौका रुखहरु सुकेको थिए । ती रुख गोलिया बनाएर उनले बिक्रि गरेका छन् । गुल्मका प्रहरीहरु केशव भट्ट,दिनेश कुँवर र काशीराम बोहरालाई खाजा खर्च दिने भन्दै काठ काट्न लगाएका थिए । ती काठ तीन वटा ट्याक्टरमा लगेर बेचिएको थियो । गुल्मभित्र काठबाट निर्मित खरले छाएका तीनवटा कच्ची ब्यारेकहरु थिए । करीब ६ महिना अगाडि पुरानो भएको बाहाना बनाई ती ब्यारेकहरु भत्काउन लगाइयो र त्यसमा रहेको काठ राती– राती बाहिर लगिएको स्रोत बताउँछ ।

गुल्मको घाँसेमैदानको घाँस बर्सेनी बिक्री गरिन्छ । त्यसबाट करिब ६०,००० हजार रुपियाँ आम्दानी हुन्छ । त्यो रकमलाई व्यक्तिगत कमाई मानेर इन्सपेक्टर चन्दले आफैँले व्यक्तिगतरुपमा खर्च गर्दै आएका छन् । विगत २ वर्षमा घाँस बिक्रिबाट एक लाख आम्दानी भएको छ । त्यो रकम चौतारो बनाउँदा सकिएको भनेर उनले अनियमितता गरेका छन् । जबकि कार्यालकै सामान र जनशक्तिबाट चौतारो निर्माण भएको थियो । उनले दुई÷चार बोरा सिमेन्टमात्र खरिद गरेका थिए ।

ब्यारेकभित्र खानामा समेत शोषण छ । आफ्ना विश्वासपात्र प्रहरी जवान अमरबहादुर जाग्रीलाई डेढ वर्षदेखि क्यान्टिन चलाउन दिएका छन् । क्वार्टरमास्टरमा २ महिना अगाडि आफ्नै विश्वासपात्र तेज बहादुर शाही लाई नियुक्त गरेका छन ।

खाना खर्च बापत यहाँका प्रहरीहरु मासिक ३५०० रुपियाँ तिर्छन् । तर, भान्साको खाना यति निम्नस्तर को छ कि खानै नसकिने प्रहरीहरु बताउँछन् । ‘गाई भैँसीलाई पकाउने कुँडो र हाम्रो खानामा कुनै फरक छैन,’ एक प्रहरीले गुनासो गरे । गुल्मका पहुँच वाला प्रहरीहरु खाना खाएको पैसा तिर्दैनन । प्रहरी निरीक्षक चन्दको घरमा पनि खाना यही गुल्म बाट जाने गरेको छ । खानाको पैसा नतिर्ने प्रहरीहरुमा गुल्मका सुबेदार मेजर राजेन्द्र कुमाल, हवल्दार मेजर शेर सिंह ठगुन्ना, भान्सामा काम गर्ने ६ जना प्रहरी, इन्स्पेक्टर का दुई जना बडीगार्ड प्र.ज. राजेन्द्र ठगुन्ना र प्र.ज. दिनेश कुवर रहेका छन् । निरीक्षक चन्द लगायत उनको परिवारका अन्य ४ जना को लागि खाना गुल्म भित्रैबाट प्याक भएर जाने गरेको छ ।

हालै उनले प्रहरी कर्मचारी भेला गरेर आफ्ना विश्वासपात्र सइ राजेन्द्र कुमाल मार्फत रासन बापत को ३५०० मा १०० रुपियाँ थपेर ३६०० बनाउन दबाब दिन लगाएका थिए । तर, त्यो कुरा जवान र हवल्दार तह बाट अस्वीकार भएपछी त्यसको बदला लिने उद्देश्यले समय तालिका बनाएर आइतबारदेखि परेड र कक्षा संचालन गर्न लगाएका छन् । जबकि, कोरोना सक्रमणका कारण उपल्लो कार्यालयको निर्देशनबिना कुनै पनि समयतालिका बनाउन र तालिम सञ्चालन गर्न बन्देज गरिएको छ ।

कोरोना महामारीको बेला माथिल्लो कार्यालयबाट आएका निर्देशनहरु लत्याउँदै आएका छन् । धेरै मान्छे भेला जम्मा हुन नपाउने सरकारको निर्देशनविपरीत यहाँ बिहान देखि बेलुुका सम्म पिटी,परेड,कक्षा, आन्तरिक सरसफाइ, रोलकल जस्ता सामूहिक कार्यहरु हुँदै आएका छन् । जसले गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढाएको छ । गुल्मका प्रहरीलाई कार्यालय भन्दा बाहिर जान पूर्णतः रोक लगाइएको छ । बाहिर जाने काममा अझ कडाइ गर्न कार्यालयको पुर्वपट्टिको गेटमा त ताला नै लगाउने आदेश दिएका छन । तर, निरीक्षक चन्द आफूचाहिँ दैनिक घर जाने गर्छन् र उनलाई दिउँसो बजार घुम्न र बेलुका घर जान कुनै महामारी वा भाइरसले रोकेको छैन । गुल्मभित्र छानबिन गरेमा धेरै अनियमितताहरु बाहिर आउने प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीका अन्य गण तथा गुल्ममा पनि कार्यालय प्रमुख र सुवेदार मेजर मिलेर यसैगरी शोषण हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्