Logo
Logo
टिप्पणी

आन्दोलनको नाममा रणनीतिक खेल, लाभ कसको पोल्टामा ?


युवराज संग्रौला

819
Shares

भाइबहिनीहरू, गोरु गाडा आफैँ हिँड्दैन । गोरु नार्नु पर्छ । अनि, गोरु नारेर मात्र हुँदैन, गाडालाई सन्तुलित पाराले तान्ने सीप सिकेका गोरु चाहिन्छ । राजनीति गर्ने मानिस राम्रोसँग बाटोमा हिँड्ने सीप भएको गोरुजस्तै हो, गोरु सिपालु छैन भने गाडा पल्टिन्छ ।

१. गोरुलाई नियन्त्रण गर्ने गाडिमान चाहिन्छ, राजनीतिमा त्यो गाडिमान बिचार हो । बिचारले गन्तव्य निश्चित गर्छ र मार्ग देखाउँछ ।

२. तपाईँहरूले मकाएको सरकार लडाउनुभयो, तर त्यो लाभको भागिदार को हो ? ठम्याउनु भएन । तपाईँहरूले अल्पकालीन विजय त पाउनुभयो, तर देशको भविष्य नै अनिश्चित भयो ।

३. मैले पटक पटक भनेको छु ‘तपाईँहरूको आन्दोलन कुनै एक वा दुई शक्ति राष्ट्रको रणनीतिको अस्त्र मात्र बन्न सक्छ । को हुन् ती बीओडी लेखेका मानिस ? कस्ता मानिस परराष्ट्रमन्त्री बन्न दिल्लीबाट आएका रहेछन् ? तपाईँहरूका कति समूह छन् ? किन सबैलाई मन्त्री चाहिएको हो ? किन ‘पपुलिजम’को पछाडि कुदिरहनुभएको छ ? अब तपाईँहरूसँग उत्तर माग्न थाल्छन् जनताले । तपाईँहरूका झगडाले सामाजिक सञ्जाल फोहोर हुँदै छ ।

४. तपाईँहरूलाई थाह छ, यो देशका गाउँगाउँमा आजपनि सुत्केरी हुन नसकेर आमाहरू मर्छन् ? तपाईँहरूलाई थाहा छ, किसानले पाउने सब्सिडी व्यापारी र राजनीतिक व्यक्तिले पाइरहेका छन् ? तपाईँहरूलाई थाहा छ नागरिकले आफूले दिएको अनुदानमा पनि कर तिर्नुपर्छ ?

तपाईँलाई थाहा छ, लाखौँ सहकारी पीडित अन्यायको सिकार भएका छन्, अनि आन्दोलनमा अदालतका कोठा छानीछानी ती पीडितका फाइल जलाइएका छन् ?तपाईँहरूलाई थाहा छ, मिटर ब्याजले रगत चुसेका नागरिकको पीडा ? तँपाइँलाई थाहा छ, सिडियो कार्यलय जलेर युवाले नागरिकता बनाउन पाएका छैनन् ? तपाईँहरूलाई थाहा छ । मालपोत र नापीमा मानिसका घर जग्गाका कागज जलेका छन् ? छैन, थाहा भएको भए तपाईँका आन्दोलनमा छिरेर अपराध गर्ने र पुलिस मार्नेलाई कारबाही गर्नेलाई कानुनी कारबाही किन रोक्नुहुन्छ ?

५. भ्रष्टाचारले मारेका मानिस त सर्वसाधारण जनता हुन् । तपाईँको आन्दोलन त भ्रष्टाचार विरुद्धको थियो, तर तपाईँहरूको प्राथमिकता त केही थान मानिस थुन्नुमा सीमित छ । ज्यानजीलाई बिद्युत् परियोजनाको सेयर चाहियो, मालपोत र भन्सारमा प्रतिनिधित्व चाहियो, यी कस्ता माग हुन् ? तपाईँहरू नेपाल बनाउने एजेन्डामा चुक्नुभयो । सोच्नुहोस् ।

६. समस्याको जरो हाम्रो निर्वाचन र संसद्को संरचनामा छ । हाम्रो निर्वाचन प्रणाली ‘मताधिकार प्रयोग गर्ने प्रणाली होइन, यो त कुलीन र दलका मालिकसँग सौदाबाजी गर्ने प्रणाली हो । हाम्रो प्रतिनिधिसभा केही थान मालिकका अनुचरले भत्ता र तलब खाने ठाउँ हो ।’ यस ठाउँमा विद्यार्थीको प्रतिनिधि हुँदैन, शिक्षकको प्रतिनिधि हुँदैन । मजदुर र किसानको प्रतिनिधि हुँदैन । व्यवसायीको प्रतिनिधि हुँदैन । आन्दोलन त यसका लागि हुनुपर्ने होला नि, होइन र ?

७. प्रत्यक्ष राष्ट्र प्रमुखको निर्वाचनको कुरा गर्नुहुन्छ । थाहा छ, राष्ट्र प्रमुख सेनाको परमाधिपति हुन्छ ! सेनाको शक्ति र शासनको शक्ति एकै ठाउँमा राखेपछि के होला ? हामीलाई चाहिएको त जनउत्तरदायी प्रधानमन्त्री होला, होइन र ? आन्दोलन गर्नुअघि राम्रोसँग बुझ्नुहोस् ।

देशलाई भूराजनीति द्वन्द्वको आगोमा नहाल्नुहोस् । नेपालभित्र तिब्बत नल्याउनुहोस, भोग्न नसकिने कुरा भोग्नुपर्ने हुनसक्छ । विज्ञहरूसँग छलफल गर्नुहोस् । जनउत्तरदायी प्रधानमन्त्रीको निर्वाचनको उपाय छ, तर संविधान मार्ने योजना स्वीकार्य छैन ।

प्रतिक्रिया दिनुहोस्