जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दुई समूहले आ-आफ्नो दाबी पेश गरेपछि प्रदेश प्रमुख कार्यालयमा तनाव बढेको छ । दुवै पक्ष कार्यालय पुगेपछि स्थिति तनावपूर्ण बनेको हो ।

संभावित झडपलाई मध्यनजर गर्दै प्रदेश प्रमुखको कार्यालय परिसरमा ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ।
बुधबार बिहान, लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष ५७ सांसदको समर्थनसहित दाबी पेश गरेका थिए । त्यसपछि, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न नेकपा एमाले र जनमतका सांसदहरूको हस्ताक्षरसहित ५८ सांसदको दाबी पेश गरे । मधेशमा जनमतका १३ सांसद रहेका छन् ।
उक्त घटनाक्रमकै बीच, निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र पूर्व वनमन्त्री त्रिभुवन साह निर्वाचन कार्यालय पुगेर नयाँ जनस्वराज पार्टीमा सनाखत गर्न लागेका थिए । सिंह र साहको नयाँ पार्टीमा सनाखत प्रक्रियामा जनमतका नेता तथा कार्यकर्तासँग अवरोध र झडप समेत भएको थियो ।
जनमतले आज प्रदेश प्रमुख कार्यालयमा एक पत्र बुझाउँदै आफ्नो समर्थन जितेन्द्र सोनललाई रहेको जनाएको थियो । प्रदेश प्रमुख कार्यालयले पनि यसबारे जानकारी दिएको छ।
मुख्यमन्त्री नियुक्तिको विषयमा दुवै पक्षसँग छलफल जारी रहेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका छन् ।











