अफगानिस्तानको तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्तकी भारत भ्रमणमै थिए । ठिक त्यही बेला अफगानिस्तान र पाकिस्तानबीच सीमामा सैन्य भिडन्त चल्यो । तालिवानले पाकिस्तानको ५८भन्दा बढी सैनिक मारिदिएको दाबी गरेको छ । यो घटनाले अफगानिस्तान र पाकिस्तानबीच युद्धको सम्भावना बढेको छ । यो घटना हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सैनिकलाई फेरि अफगानिस्तान पु¥याउने अभिव्यक्ति दिएका थिए ।

उनले बग्राममा हवाई सैनिक अड्डा पुनः राख्ने चाहना व्यक्त गरेका थिए । अर्कोतर्फ, पाकिस्तानसँग अमेरिकाको सम्बन्ध विशेष खालको बनेको छ । पाकिस्तानका सबैभन्दा शक्तिशाली व्यक्ति सेना प्रमुख असिफ मुनिरले केही महिनाबीच नै तीनपटक अमेरिका भ्रमण गरिसके ।
पाकिस्तानलाई अमेरिकाले दक्षिण एसियाको भरपर्दो शक्तिका रूपमा लिइरहेको छ । उता भारतसँग अमेरिकाको सम्बन्ध चिसिएको छ । ट्रम्पको टारिफको तारोमा भारत पनि परेको छ । उसले भारतलाई रुससँग तेल खरिद नगर्न चेतावनी दिँदै आएको छ । तर, भारतले भारी छुटमा तेल खरिदको मात्रा झन् बढाएको छ ।
भारत र पाकिस्तानबीच वैमनश्यता रहँदै आउनु र त्यसमा अमेरिका, रुस, चीन र युरोपका शक्तिशाली देशको रणनीतिक दाउपेचले दक्षिण एसियामा नयाँ नयाँ खालका अस्थिरताहरू देखिन थालेका छन् । यसले सबैभन्दा चुनौती तीव्र आर्थिक वृद्धिले विश्वको तेस्रो धनी देश बन्न लागेको भारतलाई परेको छ ।
ट्रम्पको टारिफको तारो एकातर्फ छ भने अर्कोतर्फ उसका छिमेकी देशहरूमा राजनीतिक अस्थिरता बढेको छ । भारतभित्रै मोदी सरकारलाई चुनौती दिने बाह्य र आन्तरिक खेलहरू चलिरहेका छन् । उदारवाद र खुल्ला समाजका नाममा पश्चिमा एजेन्डा पूर्वतर्फ फैलाइरहेको जर्ज सोरसको सक्रियता भारतको सत्तारुढ भारतीय जनता पार्टीले खुलाउँदै आएको छ ।
सोरसको तारोमा भारतको सत्ता नजिक अर्बपतिहरु परे । एनजीओको सञ्जाल बनाएर जुनसुकै बेलामा हजारौँ मानिस उतार्ने र दंगासम्म गराउने सामथ्र्य सोरसले अमेरिकामा पनि बनाएको स्वयं ट्रम्पले नै भनेका छन् ।
अर्कोतर्फ, पश्चिमाहरूको एनजीओमार्फत बनाइएको संगठित सञ्जाल एसियालगायत विश्वभर छँदै छ । त्यस्तै सञ्जाल लद्दाखमा अस्थिरता मच्चाउन सक्रिय भयो । भारतले तत्काल विफल त पारेको छ तर, अन्यत्र यस्ता अस्थिरता मच्चाउने मौकाको पखाईमा छन् ।
उत्तर प्रदेशमा अर्को दंगा भड्काउने प्रयासलाई योगी आदित्यनाथको कठोर कदमले विफल बनाइदिएको छ । तर, चिकेन नेक रहेको पश्चिम बँगाल क्षेत्रमा ठूलो चुनौती देखिइरहेको छ । मोदीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई भेटेर सम्भावित सुरक्षा चुनौतीबारे छलफल गरिसकेका छन् । वरपरका छिमेकमा देखिएका घटनाप्रति भारत मात्र नभई चीन पनि उत्तिकै चासो बढाइरहेको छ ।
मालदिभ्स, पाकिस्तान, श्रीलंका, बंगलादेश हुँदै नेपालमा भएका विभिन्न राजनीतिक घटनाक्रमले दक्षिण एसियालाई नयाँ संकटमा धकेलेको छ । पाकिस्तानमा अघोषित रूपमा सैनिक शासन नै छ । बंगलादेशमा मोहम्मद युनुसको सरकार निर्वाचित होइन । नेपालमा पनि जेन–जी आन्दोलनपछि युनुसकै शैलीमा सुशीला कार्की प्रधानमन्त्री बनेकी छिन् ।
युनुस सरकार भारतका लागि चुनौती बन्दै गएको छ । भारतमा पूर्वप्रधानमन्त्री शेख हसिना निर्वासित हुनुलाई युनुस सरकारले भारतप्रति नै नकारात्मक भावना बढाउने अस्त्र बनाएका छन् । उक्त सरकारले त्यहाँका अल्पसंख्यक हिन्दूमाथि दमन बढाएको छ । बंगलादेशमा अल्पसंख्यकहरु निकै असुरक्षित बन्दै गएका छन् ।
नेपालमा जेन–जी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सत्ता ढलेपछि बनेको सरकारबारे धारणाहरू बन्ने क्रम जारी छ । सरकार बनेको एक महिनामा केही भइहाल्ने त होइन तर राजनीतिक अस्थिरता अझ गहिरो हुने घटनाक्रमले देखाउँदै लगेको छ । ओलीको मात्र सत्ता ढल्यो तर पार्टी राजनीतिमा पुरानैको पकड कायम छ । सत्ताको रिभल्भिङ चियरमा बसेर आलोपालो गर्दै आएका केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड अझै आ–आफ्नो दलको नेतृत्वमा छन् । यी तीनैजना अलोकप्रिय छन् ।
सत्तामा यिनै नेताहरूले राइँदाइँ गरे । देशमा पछिल्लो दश वर्षमा सबैभन्दा ठूला भ्रष्टाचारका काण्डहरू भए । कुनैबेला करोडमा हुने भ्रष्टाचार अरबमा हुन थाल्यो । यतिसम्मकी देशको भाषा र लिपि नै मेट्ने इम्बोस्ड नम्बर प्लेटमा अरबौँको भ्रष्टाचार गरे । ललिता निवास, गिरिबन्धु टी स्टेटजस्ता जग्गा काण्डहरू भए । क्याबिनेटबाट पास गर्दै छानबिनबाट उम्कने उपाय बनाएर नीतिगत भ्रष्टाचारहरू गरे ।
जनताको खर्बौँको धन सहकारीका नाममा ठगी भयो । त्यसमा मुख्य दलका नेता कार्यकर्ता संलग्न पाइए । जनआक्रोश थाम्नै नसक्ने गरी विष्फोटको अवस्थामा थियो । जुन जेन–जी आन्दोलनमा देखियो । देशमा इतिहासमै नभएको आगजनी र लुटपाटका घटना भए । यसको मुख्य कारण नेपाली जनताले विश्वास गरेर अमूल्य मत दिई सत्तामा पु¥याएका मुख्य नेताहरूको विश्वासघात नै हो । देश र जनतामाथिको घातले अहिले जुन अवस्था निर्माण गरेको छ त्यसले बाह्य शक्तिले खेल्ने र चल्ने मौका पाइसकेका छन् ।
नेपालमा विदेशी शक्तिको सक्रिय संलग्नता विगतमा खासै थाहा हुँदैनथ्यो । एनजीओ आइएनजीओ नेपालको दिगो विकासमा सहयोगी भइरहेको आभाष जनतामा परेको थियो । तर, पछिल्ला घटनाले कतिपय त्यस्ता संस्थाहरू नै देशको राजनीतिलाई प्रभावित पार्ने अस्त्रका रूपमा प्रयोग भइरहेका छताछुल्ल भइसकेका छन् । देशमा पहुँचवाला हुन पनि विदेशीबाट आर्थिक सहयोग पाइरहेका संस्थासँग आबद्ध हुनुपर्ने अघोषित मापदण्ड जस्तै देखिएको छ ।
सुशीला कार्की नेतृत्वको सरकारमा त्यस्तै व्यक्तिहरू हालीमुहाली देखिएका छन् । यसले जनतामा सरकारप्रति नै नकारात्मक धारणा विकास भइरहेको छ । यही धारणाले अर्को असन्तुष्टि विकास भई नेपालमा अर्को राजनीतिक उथलपुथलको घटना नहोला भन्न सकिँदैन । दक्षिण एसियाका साना देशहरूमा जे जस्ता माहौल बनिरहेका छन् त्यही माहौल नेपालमा पनि बनिरहेको छ अहिले ।
एकातर्फ भारत तीव्र आर्थिक विकासका साथ फड्को मारिरहेको छ । उसले सांस्कृतिक शक्ति र डायस्पोरा शक्तिलाई एकसाथ प्रभावशाली बनाइरहेको छ । अर्कोतर्फ, भारतका छिमेकी देशहरूमा सत्ता पलटका घटनाहरू भएका छन् । तेस्रो शक्तिको संलग्नताका विषयहरू भारतीय मिडियाले धमाधम प्रकाशित गरिरहेका छन् । त्यस्ता मिडियाले सिधै अमेरिकाले सत्ता पल्टाउन लगानी गरेको सम्म लेखे ।
नेपालको जेनजी आन्दोलनको माहौल तयार गर्न ९० करोड डलर खर्चिएको नवभारत टाइम्सले लेखेको थियो । द सन्डे गार्जिएनले पनि त्यस्तै सामाग्री प्रकाशित गरेको थियो । यसले पनि भारत नेपाल, बँगलादेशलगायत दक्षिण एसियाका देशहरूमा भएको सत्ता पल्टने घटनाप्रति सतर्क रहेको बुझ्न सकिन्छ । छिमेकीको अस्थिरताको असर पर्नेतर्फ सजग रहेको भारतीय नेताहरूको अभिव्यक्ति र सीमा क्षेत्रमा चालिएका कदमहरूबाट बुझिन्छ ।
नेपालको राजनीतिक घटनाप्रति भारत निकै गम्भीर भएको हुनुपर्छ । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले अनौपचारिक कार्यक्रममा नेपालमा तीन वर्षमा तीनवटा सरकार परिवर्तन भएको विषय व्यङ्ग्यात्मक तरिकाले उठाए । सरकार परिवर्तनसँगै भारत होस् या चीन दुवैले सम्बन्ध राखेकै छन् र छलफल बढाएकै छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जेनजी आन्दोलनको युवाहरुको प्रशंशा गरे । सुशीला कार्की प्रधानमन्त्री बनेकोमा बधाई दिए । तर, सांगठनिक रूपमा मजबुत दलहरूलाई चिढ्याएर बढ्ने रणनीतिमा भारत हुने देखिँदैन । नेपालको अस्थिरताको असर भारतमा पर्ने भएकाले पनि उसले स्थायित्वका लागि भूमिका खेल्ने सम्भावना उत्तिकै छ । जतिसुकै गरेपनि छिमेकको घरमा आगो लगाउने मूर्खता कसैले गर्दैन किनकि त्यो आगो आफ्नो घरमा पनि लाग्छ । आगो लगाउने त टाढाको नै हुन्छ ।
जेनजी आन्दोलनपछि मौलाउन खोजेको फ्रि तिब्बतको गतिविधि र तराईमा धार्मिक युद्ध गराउन खोज्ने गतिविधि नै हो । फ्रि तिब्बतको पक्षमा लागेकाहरु सत्तामा पहुँचवाला मात्र भएका छैनन् । हर्ताकर्ता नै देखिएका छन् । तराईका जिल्लाहरूमा हिन्दु मुसलमान भिडन्त गराउने अर्को समूह उत्तिकै सक्रिय छ । फ्रि तिब्बतको गतिविधि चीन लक्षित छ । तराईमा धार्मिक दंगा गराउन खोज्नेहरु भारत लक्षित योजनामा छन् ।
नेपालको भूमिको दुरुपयोग गरी छिमेकमा अस्थिरता मच्चाउन खोज्ने खेलहरू चलिरहेको प्रस्ट छ । तीव्र आर्थिक विकास र सैन्य शक्ति बलियो बनाउँदै लगेका चीन र भारतलाई छिमेकबाट चुनौती दिने रणनीति बुनिएका छन् । यही रणनीतिको मारमा नेपाल पर्ने खतरा छ । नेपाल र नेपाली जनताले बदलिँदो विश्व व्यवस्था र शक्तिराष्ट्रको छद्म युद्धका कारण चुनौती भोग्नुपरेको छ । अस्थिरताको चक्रव्यूहमा छ देश यतिबेला । बाह्य र आन्तरिक सुरक्षा चुनौतीसँग लड्ने मुख्य शक्ति नेपाली सेनासामु सबैभन्दा ठूलो चुनौती छ । इतिहासको गौरव र भूराजनीतिक अवस्थितिलाई मध्यनजर गरी सेनाले चाल्ने कदमले नै तत्कालको चक्रव्यूहलाई तोड्न सकिन्छ ।











