नेपाली साहित्यमा कथा विधा पुरानो र लोकप्रिय मानिन्छ । कथा मौलिकताका साथै आन्चलिकताका आवाजहरूले झनै लोकप्रिय हुन्छ । हुनतः हामी घरमै बसेर संसारको विचरण गर्न सक्छौँ । संसारका जुनसुकै कुनामा भए पनि त्यहाँको साहित्य, संस्कृतिसँग परिचित हुन सक्छौँ । अब संसार टाढा छैन, सामाजिक सञ्जालको माध्यम मार्फत हेर्ने हो भने । तर, हामीले भोगेका भोगाईका साक्षी भने हामी आफै हुनुपर्छ । हाम्रो धर्म, संस्कृति, रितिरिवाजको जगेर्ना अरूले गर्दैन, आफैले गर्नुपर्छ । हामी कल्पना भन्दा यथार्थमा बाँचिरहेका छौँ । हामीले बाँचेको समयका चित्रहरू सन्ततिलाई पढाउनको लागि पनि हामीले हाम्रा यथार्थ चित्रहरू कोर्नुपर्छ । यसैलाई मध्यनजर गर्दै कथाकार रेजिना पाण्डेले यही समाजका यथार्थ चित्र कोरेकी छिन् अस्तित्व कथासङ्ग्रहमार्फत ।

नेपाली साहित्यमा वर्तमान समय निकै उर्वर देखिएको छ । धेरै भन्दा धेरै सर्जकहरूका पुस्तक प्रकाशन भइरहेका छन् । कथा विधामा निकै उर्वरता देखिएको छ । र, अर्को कुरा नेपाली साहित्य जटिल नभएर समाजको एक हिस्साको रूपमा विकसित हुँदै छ । हामीले भोगेको समाजसँग भविष्य परिचित बनाउनु पर्छ भन्ने चेतना सर्जकहरूले प्रस्तुत गरेका छन् । साहित्यकारहरू पनि यही समाजका पहरेदारको रूपमा आफैँलाई परिचित गराइरहेका छन् । यसैक्रममा रेजिना नवीनतम कथासङ्ग्रह अस्तित्वमार्फत समाजलाई खबरदारी गरिरहेकी छन् ।
समसामयिक धारामा लेख्ने कथाकारहरूले नेपाली कथालाई वैश्विक सन्दर्भसँग जोड्ने कार्य गरेका छन् । सामाजिक जीवन मूल्यको स्थापना, जीवनको यथार्थ र सत्यको प्रस्तुति, सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग जस्ता कुराहरू यस धाराका कथागत प्रवृत्ति हुन् । यस्ता प्रवृत्तिका कथाहरू वर्तमान समयमा निकै सान्दर्भिक साथै लोकप्रिय छन् । एउटा व्यक्तिले आफ्नै समयको इतिहास बनाउन चाहन्छ, यस कारण पनि समसामयिक धारमा लेखिएका कथाहरू पाठकको रुचिका विषय बन्ने गरेका छन् । वर्तमान समयमा यस्ता कथा लेख्ने क्रम बढेको छ । यसै क्रममा क्रमबद्ध भएर उभिएकी छिन् रेजिना पाण्डे ।
रेजिनाले नारीका भावनालाई सम्बोधन गरेर नारीका समस्यालाई कथामा व्यक्त गरेकी छिन । उनीहरूका चाहना र रहरहरू कसरी दबाइएका छन्, भन्ने कुरा कथामा प्रस्तुत भएका छन् । अस्तित्व भित्र रहेका सत्र कथाहरू पढ्दा समाजभित्रका दृश्यहरू भेटिन्छन् । हामीले भोगेका देखेका कैयाँै घटनाहरू कथामा भेटिन्छन् । हाम्रा लुगाहरू पुराना भएपछि हामी त्यसलाई फाल्छौँ, तर हाम्रा सम्बन्धहरू लुगाजस्तै फाल्न सक्दैनौँ । म्याक्सी शीर्षकको कथा मानवीय सम्बन्धको उत्कृष्ट कथा हो । मान्छे सग्लो हुँदा मात्र होइन, परिवारमा बाँधिएपछि अनेकन् समस्याहरूको सामना गर्न सिक्नुपर्छ, हटेर होइन डटेर सामना गर्नुपर्छ भन्ने बोध यी कथामा पोखिएका छन् ।
शीर्षकमा विविधता भए पनि प्रायः कथाहरू महिलामैत्री छन् । सबै कथाले नारीलाई पीडा मात्र दिएका छैनन् । विधवा शीर्षक कथाले आफ्नो छोराको मृत्युपछि कलकलाउँदो उमेरमै विधवा बनेकी बुहारीलाई विधवा जीवन बाँच्न दिन्न भन्ने सासूको वचनले समाज परिवर्तन हुन समय लाग्दैन भन्ने प्रष्ट हुन्छ । कथाकारले साहित्यमार्फत समाजमा सकारात्मक सन्देशहरू प्रवाहित गर्ने हो । विसङ्गति विरुद्ध आवाजहरू प्रस्फुटित गर्ने हो । आफ्नो अस्तित्वको लडाइँमा जित हासिल गर्ने नै हो । यी कुरामा रेजिनाका कथाहरू अब्बल देखिन्छन् ।
विवाहपछि नारीको चाहनाका बारेमा ऐना शीर्षकमार्फत प्रस्तुत गरेकी छन् । पुरुषले आफ्ना कमजोरीहरू देखाउन नचाहने तर त्यसको मारमा सधैँ महिला पिल्सनुपर्ने सन्दर्भले पुरुष प्रधान समाजको चित्र स्पष्ट देखिएको छ । अर्को पुरुषले नारीलाई अगाडि बढ्नका लागि या जागिरै खान पनि हाकिमसँग होटलमा रात बिताउनुपर्ने सन्दर्भले कथाहरू समाजका नमिठा पक्षलाई समेटेको देखिन्छ । प्रेम अभावले उत्पन्न हुने परिस्थिति तथा पुरुष मनोविज्ञान तथा फरक क्षमता भएका महिलालाई हाम्रो समाजको दृष्टिकोण कथामा प्रस्तुत भएका मूल पक्षहरू हुन् । उच्च घरानीयाहरुको जीवनशैली तथा समाजमा आफू उच्च देखिनुपर्ने तर यौनमा लिप्त महाराजहरूको चरित्र पनि कथामा उदाङ्गिएका छन् ।
कविता तथा समसामयिक लेखहरूमार्फत पत्रपत्रिकामा बाक्लो उपस्थिति जनाएकी रेजिनाको पहिलो कथासङ्ग्रह ‘अस्तित्व’मार्फत समाजलाई खबरदारी गरेको पाइन्छ । कथामा द्धन्द र उपकथा क्रम भने समेट्न सकेको देखिँदैन, यी तत्त्वहरू कथाका मूल खम्बाहरू हुन् । तापनि कथा समाजमैत्री, पाठकमैत्री र नारी जागरणका पक्षमा उभिएका देखिन्छन् । रेजिनाको कथा यात्रा अझैँ चुलियोस् ।











