Logo
Logo

बाटो बिग्रिएपछि बाजुराको स्याउ बजार पुग्न पाएन


- नन्दा थापा/दृष्टि न्युज/संवाददाता


नन्दा थापा/बाजुरा, ५ असोज । बाजुरामा औषतमा एक हजार क्वीन्टल स्याउ उत्पादन हुन्छ । अहिले पहिलो चरणमा किसानको बारीबाट ५० क्वीन्टल मात्र स्याउ बिकेको छ । अझै किसानको बारीमा स्याउ टिप्नै बाँकी छ । कृषि ज्ञान केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्र्तगत ढुवानीमा अनुदान दिने भनेपछि आफ्नो बारीमा भएको स्याउलाई किसानले जोगाई राखेका छन् । तत्काल सडक सञ्चालन हुने सम्भावना छैन । प्लेनबाट सबै स्याउ ढुवानी गर्न असम्भव देखिएको छ । किसान बारीको स्याउ बारीमै कुहिने हो कि भन्ने चिन्तामा छन् ।

यतिबेला बाजुरामा स्याउ पाक्न थालेको छ । किसानहरूलाई स्याउ टिप्ने र बेच्ने चटारो छ । ‘जसले खायो, उसले थाहा पायो’ भन्ने नाराले बाजुराको स्याउ चर्चित छ । देख्नमा अरुभन्दा राम्रो नभएपनि बाजुराको स्याउ स्वादिलो छ । त्यसैले बाजुराको स्याउको माग बजारमा राम्रो छ । कैलालीका पवन विष्टले बाजुराको स्याउ खानका लागि रसिलो र मिठो बताए ।

गत वर्ष स्याउ ढुवानी अनुदानबाट फाइदा लिएका किसानले यो वर्ष बारीमा दोब्बर बिरुवा रोपेका छन् । केही बर्ष अगाडी रोपेको स्याउले फल दिन सुरु गरेको छ । तर राम्रो बजारको भने अभाव रहेको स्थानीय किसान उत्तम शाही बताउछन् । उनले भने, ‘बजार पाउनलाई एकदमै ठूलो समस्या छ । स्थानीय बजार सानो भएकोले हामीले त्यहाँ उत्पादन गरेको स्याउ खपत गर्न एकदमै गाह्रो छ ।’

बाढी पहिरो र अत्याधिक वर्षाले सडक बिग्रिएको छ । यातायातका साधन चलेका छैनन् । सडकको माध्यमबाट स्याउलाई बजारमा पु¥याउने सम्भावना कम छ । प्लेनबाट मात्रै स्याउ बजार पठाउन कति सम्भव होला ? नागरिक चिन्तित भएका छन् ।

अर्का किसान मनबहादुर रोकाया यो वर्ष बाढी पहिरोका कारण सडकहरू बिग्रीएकाले प्लेनबाट उडाएर लैजान समस्या भएको बताउछन् । नेपालगञ्ज र धनगढी पुर्याएसकेपछि भने माग अत्यधिक भएको उनले भने । गत वर्षदेखि स्याउ ढुवानीमा अनुदान दिंदै आएको कृषि ज्ञान केन्द्र बाजुरालाई यो वर्ष ढुवानी महङ्गो हँुदा किसानको बारीको सबै स्याउ नउठ्ने हो की भन्ने चिन्ता छ ।

कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशी राज्यले प्लेन चार्डट गरेर सबै स्याउ ढुवानी गर्न नसक्ने बताए । यसका लागि ठूलो लगानी आवश्यक पर्ने उनले बताए । स्याउलाई पछिसम्म राखि राख्नको लागि बाजुरामा चिस्यान केन्द्र छैन । प्रशोधन गर्नको लागि मेसिन पनि छैन । उत्पादन भएको स्याउ तत्काल बिक्रि नगरे बिग्रिन्छ । तर ढुवानीको लागि भरपर्दो साधन किसानले पाएका छैनन् ।

किसानले फलाएका स्याउ सहज रुपमा बजारमा पु¥याउन सरकारले के सहयोग गर्छ ? सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह उत्पादित स्याउलाई बजारसम्म पुर्याउन प्रदेश सरकारले पहल गर्ने बताए ।

बाजुरामा दुईसय ३० हेक्टर क्षेत्रफलमा स्याउ फल्छ । कृषि ज्ञान केन्द्रले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत ढुवानीमा अनुदान दिने भनेपछि किसानले आफ्नो बारीमा भएको स्याउलाई जोगाई राखेका छन् । तर ढुवानीको कठिनाइले स्याउ बिक्रि होला कि नाइँ ? किसानहरू अन्यौलमा छन् ।

प्रतिक्रिया दिनुहोस्