Logo
Logo

दर्शकका लागि मात्र म ‘हट’ र ‘बोल्ड’ हुँ-सरस्वती भुजेल, गायिका


- दृष्टि न्युज/संवाददाता


नेपाली सांगीतिक क्षेत्रमा ‘रकस्टार’का रुपमा चिनिन्छिन्, सरस्वती भुजेल । उनको गायनशैलीमात्र ‘रक’ छैन, प्रस्तुती पनि ‘बोल्ड’ र ‘हट’ छ । तर, नीजि जीवनशैली भने शालिन र साधारण । ‘म दर्शकका लागिमात्र हट एण्ड बोल्ड हुँ’ सरस्वती भन्छिन्, ‘एउटा कलाकारले कला देखाउन सक्नुपर्छ । कला देखाउँदा दर्शक तथा श्रोताको आँखामा हट भएकी हुँ ।’ ‘रकस्टार’लाई मुख्य आयश्रोत हो, स्टेज कार्यक्रम । गायिका सरस्वतीले गायनशैली र फरक प्रस्तुतीकै कारण छोटो समयमै आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गरिन् भने संसारका अधिकांश नेपाली पुगेका देशमा सांगीतिक प्रस्तुत पस्किसकेकी छन् । तर, पछिल्लो ६ महिनायता उनी घरमै थन्किएकी छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणसँगै विश्व नै आक्रान्त छ । कोरोनाबाट बच्न विश्व नै लकडाउन भएको अवस्थामा सांगीतिक कार्यक्रमहरु पनि प्रभावित भएका छन् । यस्तो अवस्थामा पनि गीतसंगीतको काम गर्दै आएकी गायिका सरस्वती भन्छिन्, ‘दर्शक र श्रोताको माया बटुल्न लागि लकडाउनबीच पनि गीतसंगीतलाई निरन्तरता दिँदै आएकी छु, तर आम्दानी भने छैन ।’ यिनै गायिका सरस्वती भुजेलसँग एमपी सुब्बाको जम्काभेट :

के छ नयाँ नौलो ?

नौलो भनेकै लकडाउन हो । लकडाउन भएपनि गीतसंगीतका कामहरु गरिरहेकी छु । दर्शक तथा श्रोतासँग जोडिरहनका लागि पनि काम गर्नुपरेको छ । तर, लगानीमात्रै गर्ने हो, आम्दानी छैन ।

त्यसोभए लकडाउनले प्रभाव पारेन होइन त ?

कोरोना र त्यसबाट सिर्जित लकडाउनले प्रभाव पारेन भन्नु त मिल्दैन । संसार नै प्रभावित भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । यस्तो अवस्थामा अरु व्यापार व्यवसायीजस्तै गीतसंगीत क्षेत्र पनि अछुतो छैन । तर, कोरोनासँग डराएर काम नगरी बस्नु भएन । लकडाउनकै समयमा आपत्तविपतमा परेका श्रमिक तथा मजदूरहरुलाई सहयोग गर्ने काम पनि गरेँ । जो रोजगार गुमाएर भोकै भएका थिए, उनीहरुलाई खाद्यन्नलगायतका सामग्री वितरण गर्दै आएकी थिएँ । तर, पछिल्लो समय सरकारले राहत बाँड्न रोक लगाएको छ ।

कोरोना महामारीले सेलिब्रेटीलाई ‘जिरो’मा पु¥यायो भन्छन् नि ?

हो नि । रोग र भोकले मर्ने अवस्था आएपछि कलाकारहरुको नामसमेत दर्शकले बिर्सन थाले । यस्तो संकटमा मनोरञ्जन र चर्चाको विषय स्वतः ओझेलमा पर्छ । गीतसंगीत सुनेपनि त्यसका सर्जक को हुन् भन्ने मानिसको मनबाटै हट्न थालेको छ । त्यसैले पनि लकडाउनका बेला मैले केही गीत गरेकी हुँ । हामीलाई दर्शक तथा श्रोताको माया चाहिन्छ ।

तपाइँ स्टेज तताउँने गायिका हुनुहुन्छ । स्टेज कार्यक्रम नै ठप्प भएपछि यसको विकल्प के सोच्दै हुनुहुन्छ ?

पछिल्लो वर्षहरुमा वार्षिक डेढ सय वटासम्म स्टेज कार्यक्रम गर्दै आएकी थिएँ । गएको बैशाखमा मात्र एक दर्जन विदेशमा मेरो कार्यक्रम थियो । तर, चैतबाटै लकडाउन सुरु भएपछि सबै स्थगित भयो । अझै एक÷डेढ वर्ष स्टेज कार्यक्रम हुन्नजस्तो लाग्छ, किनकि डब्डुएचओले नै कोरोनाविरुद्धको भ्याक्सिन नआएसम्म कोरोना निर्र्मूल हुँदैन भन्दै आएको छ । त्यसैले विकल्पमा सामाजिकमूलक व्यवसायी गर्ने सोचमा छु ।

त्यस्तो के व्यवसायी हो ?

स्वास्थ्य सम्बन्धी हो । माक्स, स्यानिटाइजरदेखि लिएर महिलाका लागि स्यानिटरी प्याडको व्यापार गर्ने सोच बनाएकी छु । जसबाट सेवासँगै व्यापार पनि हुने सोचेकी छु । मानिसले बाँच्नका लागि केही न केही गर्नुपर्छ ।

फिल्म पनि बनाउनुभएको थियो । के हुँदैछ ?

रिलिज गरेकै छैन । फिल्मको नामचाहिँ नखुलौँ, यही ६ भदौमा रिलिज डेट तोकिएको थियो । तर, अब कहिले रिलिज गर्ने भन्ने निश्चित छैन ।

पहिलो फिल्मबाटै तपाइँलाई धक्का लाग्यो है ?

यसलाई म धक्का मान्दिनँ । सकरात्मकरुपमै लिउँ न । कतै राम्रो हुनका लागि डेट सार्ने अवस्था आएको हुनसक्छ ।

आफ्नो फिल्ममा अभिनय पनि गर्नुभएको छ, रुचिले कि बाध्यताले ?

बाध्यताले हो । मलाई फिल्ममा अभिनय गर्ने रुचि छैन । तर, फिल्मको कथा तयार गर्दै जाँदा निर्देशकले एउटा भूमिकामा तपाइँलाई नै सुहाउँछ भनेपछि अभिनय गरेकी हुँ । फिल्ममा मेरो एग्रिसिब भूमिका रहेको छ ।

त्यस्तो एग्रिसिब त देखिनु हुन्न त ?

मान्छेहरुले मलाई त्यस्तै देख्दोरहेछन् । तर, म वास्तविकतामा एकदमै नरम स्वभावकी छु । उस्तै दयालु र मायालु पनि । दर्शकले मलाई ‘हट एण्ड बोल्ड’ पनि भन्छन् । तर, ‘बोल्ड’ छैन । मेरो प्रस्तुती मात्र बोल्ड हो ।

प्रतिक्रिया दिनुहोस्