Logo
Logo

दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौसेनाको हेलिकप्टर र लडाकू विमान


4.7k
Shares

काठमाडौं । आइतबार दिउँसो दक्षिण चीन सागरमा अमेरिकी नौसेनाको अभ्यासका क्रममा हेलिकप्टर र लडाकू विमान छुट्टाछुट्टै दुर्घटना भएका छन् । सिएनएनका अनुसार स्थानीय समयअनुसार २:४५ बजे एमएच-६०आर सिहक हेलिकप्टर उडानका क्रममा समुद्रमा खसेको थियो ।

The current image has no alternative text. The file name is: black-see.jpg

स्क्वाड्रन-७३ एकाइको उक्त हेलिकप्टरमा सवार तीनै चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको नौसेनाले जनाएको छ । उनीहरूको आधा घण्टापछि, सवा ३ बजे फाइटिङ रेडकक्स स्क्वाड्रनको एफए-१८एफ सुपर हर्नेट लडाकू विमान पनि सोही क्षेत्रमा दुर्घटना भएको थियो। विमानका दुवै पाइलटलाई पनि सकुशल उद्धार गरिएको जनाइएको छ । 

दुवै विमान यूएसएस निमित्ज विमानवाहक युद्धपोतबाट उडान भरेका थिए । विश्वको सबैभन्दा पुरानो सक्रिय विमानवाहकमध्ये एक निमित्जलाई आगामी वर्ष सेवानिवृत्त गर्ने तयारी छ । एउटा सुपर हर्नेटको मूल्य करिब ६ करोड डलर रहेको नौसेनाले बताएको छ । दुवै घटनाको कारणबारे अमेरिकी नौसेनाले छानबिन थालेको छ । यी दुर्घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको एशिया भ्रमणकै क्रममा भएका हुन्, जसमा उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ता गर्दै छन् । 

दक्षिण चीन सागरमा चीनले करिब सम्पूर्ण क्षेत्रमा स्वामित्व दाबी गर्दै आएको छ, जसलाई अन्तर्राष्ट्रिय अदालतले अस्वीकार गरिसकेको छ । पछिल्ला दुई दशकमा चीनले यहाँ सैन्य अखडा निर्माण गरेको छ, जसले अमेरिकी नौसेनाको स्वतन्त्र आवागमनमा चुनौती थपेको छ। यस्ता अभ्यासहरू वाशिङ्टनको चीनको प्रभाव सन्तुलन गर्ने रणनीतिसँग जोडिएका छन् । 

प्रतिक्रिया दिनुहोस्