Logo
Logo

नेपालको धर्म र राष्ट्रियता जोगाउने अन्तिम ढाल


डा. दीपेश केसी

1.2k
Shares

श्री पशुपतिनाथ विश्वका एक अर्ब २० करोड हिन्दूहरुको पवित्र तीर्थस्थल हो । नेपालका ९३ प्रतिशत वैदिक सनातन हिन्दू, बौद्ध, किराँतलगायतले पशुपतिनाथलाई पूज्दछन् । नेपालका राजावादी, काँग्रेस, कम्युनिष्ट नै किन नहुन् पशुपतिनाथको दर्शन गर्न पुग्छन् ।

आफूलाई नास्तिक ठान्ने प्रचण्ड, केपी शर्मा ओलीदेखि माधव नेपालसम्म पशुपतिनाथको दर्शन गरेर बाहिर आई तस्बिर खिचाएनन् मात्र सार्वजनिक पनि गरेका थिए । नेपालको रक्षक नेपाली सेनाको पशुपतिनाथसँग गहिरो सम्बन्ध छ । नेपाली सेनाले महाशिवरात्रीका अवसरमा सेना दिवस मनाउँछ । त्यही पशुपतिनाथ मन्दिरमा जेनजी आन्दोलनका क्रममा अराजक समूहले आक्रमणको प्रयास गरेको थियो । नेपाली सेनाले पशुपतिनाथमाथि दुईतिरबाट आक्रमणको प्रयासलाई विफल बनाएको स्पष्ट पारिसकेको छ ।

समसुद्धिनले १४औं शताब्दीमा पशुपतिनाथमाथि आक्रमण गरेयता पहिलोपटक पशुपतिनाथमाथि आक्रमणको प्रयास भएको छ । ९३ प्रतिशत नेपालीको आस्थाको देवस्थल, विश्वका झण्डै २ अर्ब वैदिक सनातन हिन्दू, बौद्धलगायतले पूज्ने शिवको मन्दिर पशुपतिनाथमा आक्रमणको प्रयास सामान्य विषय होइन ।

पशुपतिनाथमाथिको आक्रमणको प्रयास नेपालको धार्मिक आस्थामाथिको आक्रमण हो । सेनाले त्यो प्रयासलाई विफल पारेर सम्भावित धार्मिक हिंसालाई रोकेको छ । यदि त्यो आक्रमण हुन्थ्यो भने नेपालमा ठूलो दंगा हुनसक्थ्यो । त्यही उद्देश्यका साथ हिन्दूहरुलाई उत्तेजित पार्ने र हिंसात्मक बनाउन खोज्ने प्रयास भएको थियो ।

जसलाई सेनाले विफल पारिदिएको छ । हिन्दूलाई उत्तेजित पार्ने र हिंसामा देशलाई लाने प्रयास मधेश, कोशी प्रदेश र पश्चिम नेपालमा चलिरहेको छ । हिन्दूका धार्मिक गतिविधिमा अवरोधका गतिविधि भइआएका छन् । यसले कुनैपनि बेला खतरनाक अवस्था आउन सक्छ ।
जसरी माओवादी गतिविधिबाट देशलाई हिंसामा लगिएको थियो त्यसरी नै धार्मिक तथा साम्प्रदायिक हिंसाबाट अर्को हिंसामा धकेल्ने षड्यन्त्रहरू चलिरहेको छ । यही षड्यन्त्र अन्तर्गत नेपाली सेनाप्रति घृणाभाव फैलाउने, सेनाको सङ्ख्या घटाउनुपर्छ भन्ने, सेना नै चाहिंदैन भन्नेदेखि कुनै व्यक्ति या दल विशेषको राजनीतिक फाइदा या घाटामा सेनालाई विवादमा पार्ने गरी भाष्य फैलाउने क्रम चलिआएको छ ।

सयौं वर्षको ग्रान्डडिजाइन चल्दै आएको छ, जस अन्तर्गत नेपालको धर्म, संस्कृति हुँदै छद्म शैलीमा नेपाली सेनामाथिको आक्रमण हुने गरेको छ । देशको संस्कृतिमाथि आक्रमणको मार्ग सहज बनाइदिने केही राजनीतिक शक्तिको दुरुपयोग भयो र देश संकटमा फस्दै गयो । नेपाली सेनाले देशको धर्म संस्कृतिलाई जोगाइरह्यो ।

महाशिवरात्रीलाई सेना दिवसका रूपमा मनाइरह्यो । त्रिशूल र डमरुलाई निशानका रूपमा मानिरह्यो । प्रगतिशिल र उदारवादका नाममा देशका महापुरुषहरूलाई बदनाम बनाएर भावी पुस्ताप्रति नकारात्मक भावना पैदा गराउने गतिविधि चलिरहँदा सेनाले महापुरुषहरूको गरिमा जोगाइरह्यो । योजनावद्ध तरिकाले पृथ्वीनारायण शाहको शालिक तोड्न उक्साउनेहरू समाज भाँड्न लागिरहँदा सेनाले नेपाल एकीकरणका नायकको शालिक जँगी अड्डाभित्र ठड्यायो ।

देशको भाषा, लिपिमाथि आक्रमण चलिरहँदा सेनाले यसलाई जोगाउने भूमिका छाडेन । जब जब देशमा प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने भयो तब तब सेनाका सिपाहीहरू ज्यानको बाजी लगाएर जनताको जिऊधन जोगाउन अहोरात्र खटिए । यसरी सेना देश र जनतको हो भन्ने पुष्टि ग¥यो ।

नेपाली सेनामाथि कहिले राजावादीहरूले राजा वीरेन्द्रसहित परिवारको वंशनाश हुन जोगाउन नसकेको आरोप लगाए त कहिले राजा ज्ञानेन्द्रको गद्दी जोगाउन नसकेको आरोप लगाए । सेना जनताको हो न कि गद्दीका लागि हो भन्ने प्रमाणित गरिदियो त्यतिबेला । जननिर्वाचित संसदबाट अनुमोदित गणतन्त्रलाई सेनाले शिरोधार्य ग¥यो ।

राष्ट्रको एकता, अखण्डता र सार्वभौमिकतामा कुनै सम्झौता नगर्ने नेपाली जनताको चाहनाअनुसार भएका कुनैपनि परिवर्तन र व्यवस्थाअनुसार वैधानिक मार्गमा सेना चल्छ भन्ने सन्देश कामबाट प्रमाणित गरिसकेको छ सेनाले ।

२०४६ सालको परिवर्तन होस् या २०६३ सालको परिवर्तन नै किन नहोस्, नेपाली सेनाले समन्वयकारी भूमिका खेलेर देशलाई अस्थिरतामा फस्न दिएन । अढाई सय वर्ष लामो शाहवंशको शासन अन्त भई राजा ज्ञानेन्द्र शाहले गद्दी छाड्दा सेनाले सहजीकरण गरिदियो । गद्दीका लागि नेपाली जनताको रगत बगाउन सेना तयार भएन ।

माओवादी हिंसाका क्रममा पनि नेपाली सेनाले ठूलो क्षति व्यहोरेर नेपाललाई असफल राष्ट्र हुनबाट जोगायो । २०८२ साल भाद्रको जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । देशले सिंहदबार, सर्वोच्च अदालत, संसद् भवनजस्ता धरोहर बलिरहेको पीडा भोग्यो । नेपाली सेनामाथि यी धरोहर जोगाउन नसकेको गम्भीर आरोपहरू लाग्यो । सेनाले ठूलो जनधनको क्षति बढ्न नदिन बल प्रयोग नगरेको जवाफ दिइसकेको छ ।

जँगी अड्डाको पत्रकार सम्मेलनमा उपरथी अनुपजंग थापाले जर्नेलहरूको बीचमा बसेर सेनाले सिंहदरबार र सर्वोच्च अदालत जस्ता धरोहर जल्न दिएर देशका होनहार सयौं युवाहरुको जीवन जोगाएको सन्देश दिइसके ।

रगतको खोलो बगाएर सेनाविरुद्ध नेपाली जनतालाई भड्काउने षड्यन्त्रलाई सेनाले विफल पारिदिएको छ जुन कालान्तरमा खुल्दै जानेछ । सेना कुनै व्यक्ति विशेष या राजनीतिक दलको स्वार्थ सिद्धिको संगठन होइन भन्ने सन्देश नेपाली सेनाले दिइसकेको छ । महादेवले कालकुट विष पिएर भएपनि सृष्टि जोगाएजस्तै सेनाले देश जोगाउन कालकुट विष नै पिएको छ । देशलाई निकै ठूलो संकटबाट फेरि जोगाएको छ ।

अर्कोतर्फ, नागरिक सर्वोच्चतालाई प्राथमिकतामा राखेर जटिल घडीमा सुझबुझपूर्ण कदम चालेको छ । सेनाले सिंहदरबार परिसरभित्रका महत्त्वपूर्ण दस्तावेज राखिएका राष्ट्रिय सुरक्षा परिषद्, अर्थ मन्त्रालय जस्ता निकाय जोगाएको उल्लेख गरेको छ । एकैसाथ भएका अराजकता अस्वाभाविक नै थियो । सेनाको आराध्यदेव पशुपतिनाथमाथि समेत आक्रमणको विफल प्रयास खुलस्त छ ।

अहिले नेपाली सेनालाई दोष देखाएर सत्ता छाड्नुपरेको पीडा केपी शर्मा ओली, शेरबहादुर देउवाजस्ता नेताका अन्धभक्तहरूले पोखिरहेका छन् । सेनाको सङ्ख्या घटाउनुपर्ने देखि सेना नै नचाहिने भन्दै विदेशी पैसामा तारे होटलमा छलफल चलाउनेहरू नै अहिले सेनालाई बदनाम बनाउन खोजिरहेछन् ।

सेनाले जमिन र आकाश दुवैतर्फको सक्रियताबाट सत्ताधारी र विपक्षी मुख्य नेताहरूको जीवन रक्षा गरेको खुलस्त छ । देश छाडेर भाग्नुपर्ने परिस्थिति बनिसक्दा नेताहरूलाई देशभित्रै सुरक्षित गर्ने दायित्व सेनाले जोखिम मोलेर निर्वाह गरेको छर्लङ्ग छ । तर, भष्मासुर शैलीमा जुन सेनाले प्राण जोगायो त्यही सेनाको बदनाम गर्न लागिपरेकाहरूले स्थितिलाई झन् अराजक बनाउने देखिइसकेको छ ।

नेपालको धर्म, संस्कृति, भाषा, लिपि हुँदै नेपाललाई नै मास्न खोज्नेहरू अहिले सिंहदरबार र सर्वोच्च अदालत जलेकोमा नक्कली आँसु बगाएर नेपाली जनतामाथि इमोस्नल ब्ल्याकमेलिङ गर्न खोज्दैछन् । त्यस्ता योजनाकारहरू विदेशी एजेन्डा बोकेर नेपाललाई खोक्रो पारेर अन्ततः सिध्याउने दीर्घकालिन योजनामा लागेकाहरु नै थिए ।

नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको शालिक भत्काउन उक्साउँथे । नेपाली जनतालाई एकतावद्ध बनाउने संस्कृति मास्न लागिपर्दथे । तिनै पात्रहरू नेपाली सेना रहेसम्म नेपालको धर्म, संस्कृति, भाषा, लिपि रहन्छ, नेपालका महापुरुषहरूको गरिमा कायमै रहन्छ, नेपालको गौरवशाली इतिहास जीवन्त रहन्छ भनेर सेनामाथि सिधा प्रहारमा उत्रिएका छन् ।

नेपाललाई सांस्कृतिक रूपमा खोक्रो बनाउने दीर्घकालीन योजनालाई नेपाली सेनाले विफल पारिदिएको छ । देश धर्मनिरपेक्ष हुँदा सेनाले पशुपतिनाथ र शिवलाई मान्नुहुँदैन भन्ने जमात लागिपरेको थियो । तर, सेनाले आफ्नो सांस्कृतिक गरिमालाई बचाइराख्यो । डमरु र त्रिशूल अंकित निशान छाडेन ।

सेनाका गणहरू हिन्दू भगवानका नामहरूमै रहे । देशको सुरक्षाको मेरुदण्ड नेपाली सेनाले राष्ट्रधर्म जोगाइराख्यो । यसकारण पनि सेनामाथि चौतर्फी आक्रमण भयो । त्यो शृंखला भविष्यमा झन् बढ्ने देखिँदै छ ।

नेपाली सेना भनेकै नेपाली जनताका लागि हो । हरेक सच्चा नेपाली जनता आफैमा राष्ट्रको सिपाही हो । सेनासँगै प्रहरी, सशस्त्र प्रहरी देखि गुप्तचर निकाय पनि नेपाली जनताका लागि हो । ती संस्थाका व्यक्ति विशेष खराब होला तर सिंगो संगठन खराब हुँदैन ।

जब देशको सुरक्षाको जिम्मेवारी लिएको सिंगो संगठनलाई नै बदनाम बनाउन कुनै संगठित समूह लागिपर्छ भने त्यस्तो समूह देशविरोधी गतिविधिमा सक्रिय छ भन्ने बुझेहुन्छ । सेना चाहिंदैन भन्ने भाष्य खडा गर्नेहरू नेपाललाई समाप्त पार्न लागिपरेका समूहका सदस्यहरू हुन् । तिनलाई बेलैमा नेपाली जनताले चिन्न जरुरी छ ।

अहिले देशमा त्यस्ता समूह साम, दाम, दण्ड, भेदका साथ लागिपरेका छन् । बाह्य खेलमा छद्म भेषमा सक्रिय त्यस्ता समूहलाई असफल पार्न सुरक्षा निकाय जति गम्भीर हुनुपर्छ जनचेतना उत्तिकै आवश्यक छ । सेना होस् या प्रहरी, तिनलाई पर्ने चोट र पीडा प्रत्येक नेपालीलाई पर्छ नै ।

त्यसको महसुस भावनात्मक रूपमा पनि हुने वातावरण भने बनाउनुपर्छ । नेपालको रक्षक नेपाली सेनाप्रति नेपाली जनताको विश्वास कदापि टुट्न दिनु हुँदैन । नेपाली सेनामाथिको छद्म आक्रमणलाई नेपाली जनताको सेनालाई हुने साथले नै विफल पार्न सक्दछ । सेनाले पनि नेपाली जनताको विश्वासलाई टुट्न नदिने गरी सुझबुझपूर्ण कदम चाल्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्