विश्वमा २०औँ शताब्दीको अन्त्य र २१औँ शताब्दीमा कतिपय देशमा सत्ता पल्टिएका घटनामा अमेरिकी भूमिका उजागर भएकै हो । सन् २००३ मा इराक, सन् २०११ मा लिबिया, सन् २०२४ मा सिरियाको सत्ता पल्टिएको घटनामा अमेरिकी भूमिका रह्यो । अफगानिस्तानमा पहिलोपटक तालिवान सत्तामा आउँदा पनि अमेरिकी भूमिका रह्यो । सत्ता पल्टिएपछि अमेरिकी सेना अफगानिस्तानमा पस्यो ।

अमेरिकाले विश्वका धेरै देशहरूमा सत्ता पल्टाएको यथार्थलाई पुष्टि गर्ने गरी त्यहाँकी गुप्तचर प्रमुख तुलसी गब्बर्डले हालैमात्र बहराइनमा भएको २१औँ मनामा डाइलगमा बोलेकी छिन् । उनले अमेरिकी विदेश नीति सत्ता परिवर्तनको अन्तहीन चक्रमा फसेको र त्यो प्रत्युत्पादक साबित भएको बताइन् । अमेरिकाले विभिन्न देशको सत्ता परिवर्तन गराउने रणनीतिमार्फत खरबौँ डलर खेर फालेको, अनगिन्ती जीवन सकिएको, नयाँ प्रकारका सुरक्षा खतरा बढेको इतिहास उल्लेख गर्दै ट्रम्प त्यस्ता रणनीतिको अन्तका लागि निर्वाचित भएको बताइन् ।
ट्रम्प आएपछि सत्ता पल्टाउने अमेरिकी रणनीति अन्त्य भएको गब्बर्डले दाबी गरिन् । तर, ट्रम्प प्रशासन पनि सत्ता पल्टाउने रणनीतिमा बढेको दोषबाट मुक्त छैन । अमेरिकामा नेतृत्व बदलिए पनि नीति खासै बदलिँदैन ।
अमेरिकामाथि भेनेजुएलाको वामपन्थी सत्ता पल्टाउन रणनीति चालेको आरोप लागेको छ । यही अवस्थाबिच गब्बर्डको पछिल्लो भनाइ सार्वजनिक भएको हो । भेनेजुएलामा ट्रम्पले गुप्तचर एजेन्सी सिआइएलाई सक्रिय बनाएको खुलाइसकेका छन् । संसारका कतिपय सफल असफल सत्ता पल्टाउने खेलमा अमेरिकाले आफ्ना एजेन्सीहरूलाई सक्रिय बनाउँदै आयो ।
सिक्किमलाई भारतले विलय गराउनु अघि त्यहाँका अन्तिम राजा नामग्यालकी पत्नी होप कुकलाई सिआइएले परिचालन गरेको आशंका गरिएको थियो । अमेरिकी नागरिक कुकको नामग्यालसँग प्रेम अनि विवाह, कुककै कारण दार्जिलिङमाथि सिक्किमको दाबेदारी र सिक्किममाथि भारतको नियन्त्रण हुनुअघि नै होप कुक सदाका लागि सिक्किम छाडेर अमेरिका पुग्नु संयोग थिएन ।
कुकको उक्साहटमा चिकेन नेकसँगैको स्वतन्त्र देश सिक्किमले भारतलाई चुनौती दिन थालेको थियो । दार्जिलिङ दाबी गरेको सिक्किमलाई नै भारतमा विलय गराइन् इन्दिरा गान्धीले । अमेरिकी भूमिका सिक्किमको भविष्यका लागि प्रत्युत्पादक बन्यो । सिक्किममा मात्र नभई कतिपय देशमा अमेरिकी भूमिका प्रत्युत्पादक साबित भएको छ । भियतनाममा जुन उद्देश्यले अमेरिकाले भूमिका खेल्यो त्यो प्रत्युत्पादक बन्यो । कोरिया विभाजित भयो । ल्याटिन अमेरिकाका कतिपय देशमा तानासाह उदाए ।
सत्ता पल्टाउन खोज्दा कतिपय देश र क्षेत्रमा राजनीतिक अस्थिरता बन्यो । राजनीतिक शक्तिको रिक्तताले दीर्घकालीन द्वन्द्व निम्तिएन मात्र गृहयुद्ध नै भयो । इराक र लिबियामा अमेरिकी भूमिकाले सत्ता परिवर्तन मात्र गराएन लामो गृहयुद्धतर्फ ती देश धकेलिए । सद्दाम हुसेन र कर्णेल गद्दाफी अमेरिकासँग निकट थिए । तर, टकराब बढेपछि अमेरिकी भूमिकाका कारण उनीहरूको सत्ता पल्टियो । सद्दाम र गद्दाफीको शासन अन्त्यपछि इराक र लिबिया लामो गृहयुद्धमा फसे । ती देशहरूमा अतिवादी संगठन इस्लामिक स्टेटको सक्रियता बढ्यो ।
अमेरिकाले आफ्नो प्रभाव बनाउन कतिपय देशमा सैनिक ‘कू’लाई नै सघायो । ल्याटिन अमेरिकाका कतिपय देशहरूमा सैनिक ‘कू’का घटनाका पछाडि अमेरिकाको भूमिका रह्यो । अमेरिका विरोधी धारणा संसारभर बढ्नुको मुख्य कारण यो पनि हो । अमेरिकी गुप्तचर प्रमुख तुलसी गब्बर्डले पनि यो तथ्यलाई प्रकाश पारेकी छिन् ।
जतिजति अमेरिका सत्ता पल्टाउने घटनामा मुछियो उतिउति ऊप्रति नकारात्मक धारणा विकास भयो । रुस र चीनजस्ता अमेरिकाको प्रतिस्पर्धी शक्तिले त्यसबाट लाभ लिन थाले । उनीहरूले अमेरिका विरोधी भावनाबाट भरपुर फाइदा उठाउँदै प्रभाव विस्तार गरे । अफ्रिकामा भएका सैनिक ‘कू’का पछाडि रुसको भूमिका देखिन्छ अहिले ।
२०औँ शताब्दीमा जर्मनी र जापानको सत्ता परिवर्तनबाट अमेरिकाले ती देश मात्र नभई क्षेत्रमा समेत प्रभाव बनाउन सकेको थियो । विश्व शक्ति बनेको अमेरिकाले सत्ता परिवर्तनबाट प्रभाव गहिरो रूपमा बनाइराख्ने रणनीति बनाइराख्यो । तर, कतिपय देशहरूमा त्यसले अमेरिका विरोधी सत्ता स्थापित गर्न पुग्यो ।
इरानमा १९५३ मा मोहम्मद मोसादेगको सत्ता परिवर्तनमा अमेरिकाले भूमिका खेल्यो । तर, त्यहाँ इस्लामिक अतिवादी शासनको उदय भयो । अफगानिस्तानमा सोभियत संघनिकटस्थलाई सत्ताबाट हटाउन तालिवानलाई सघाउँदा अमेरिकाले तालिवानबाट नै धक्का व्यहोर्नुपरेको छ । न्युयोर्कको जुम्ल्याहा भवनमाथि आतंकवादी हमला विन लादेनले गराएका थिए । उनै लादेनले अफगानिस्तानलाई आधारभूमि बनाएर सक्रिय बनाएका थिए । तालिवानले नै अमेरिकालाई अफगानिस्तान छाड्न बाध्य बनायो ।
२०औँ शताब्दीको पुछारतिर भएको शीतयुद्धले सोभियत संघ विघटन भयो । अमेरिका एकमात्र विश्व शक्तिका रूपमा देखियो । उसले संसारभर प्रभाव फैलाउने क्रममा सत्ता पल्टाउने घटनासमेत गरायो । अधिकांशमा उसको सफलता देखियो । तर, २१औँ शताब्दीको सत्ता पल्टाउने अमेरिकी रणनीतिमा तगारो बनेर देखिए रुस र चीन । विश्व व्यवस्थामा व्यापक फेरबदल भयो ।
कुनै एक देश मात्र सुपरपावरमा सीमित देखिएनन् अहिले । अमेरिकासहित पश्चिमा शक्तिमाथि रुस, चीन र भारत जस्ता देशहरूको चुनौती थपिन पुग्यो । तैपनि, सत्ता पल्टाउने अमेरिकी रणनीति छद्म या सार्वजनिक रूपमा देखिने गरेको छ । दक्षिण एसियाका देशहरूमा पनि त्यो घटना देखियो । पाकिस्तानमा इमरान खानको शासन ढल्नु, श्रीलंकामा राजापाक्षे नेतृत्वको सत्ता पल्टनु, बंगलादेशमा शेख हसिना देश छाडेर भाग्नुपर्ने गरी विद्यार्थी विद्रोह हुनु आन्तरिक कारण मात्र थिएन ।
त्यस्तै शैलीमा नेपालमा पनि जेनजी विद्रोह भयो । दुई तिहाईको कांग्रेस र एमालेसहितको गठबन्धन सरकार गल्र्यामगुर्लुम भयो । आन्तरिक रूपमा पाएको मत र बाह्य शक्तिको उक्साहटले अहम् बनेका नेताहरूले मनपरी शासन गरे । भ्रष्टाचारमा कीर्तिमान नै बनाए । यसकै फाइदा उठाउँदै ध्वंसात्मक विद्रोह भयो जेनजीका नाममा । यो घटनाका पछाडि अमेरिकी भूमिका या ग्रान्डडिजाइनबारे व्यापक चर्चा तथा बहस चलिरहेको छ ।
नेपालको जेनजी विद्रोहमा अमेरिकाले भूमिका खेलेको खबरहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समेत प्रकाशित भएका छन् । नवभारत टाइम्सले नेपालमा सत्ता परिवर्तन गराउन अमेरिकाले ९० करोड डलर लगानी गरेको भन्दै खबर प्रकाशित ग¥यो । अमेरिकानिकट संघसंस्थामा जोडिएकाहरू जेनजी आन्दोलनपछि बनेको सरकारमा सहभागी भएबाट अमेरिकी भूमिकामाथिको आशंकालाई बल पुग्यो । वाइडेन प्रशासन ताका अमेरिकी परियोजनासँग जोडिएका पात्रहरू जेनजी विद्रोह हुँदा र पछि चर्चामा आए । सरकार गठन हुँदा उनीहरू नै हालीमुहाली भए ।
नेपालको राजनीतिमा अमेरिकी भूमिका यसअघि कहिल्यै यति धेरै खुलस्त भएको थिएन, जुन अहिले भयो । जुन शैलीमा अमेरिकाले अन्य देशहरूमा सत्ता परिवर्तन गराएर प्रभाव बनाउन खोजेको थियो, त्यो शैली नेपालमा पनि दुरुस्त मेल खान्छ । यसकारण पनि आशंकाहरूलाई बल पुग्छ । अन्य देशहरूमा जस्तै नेपालको सत्ता परिवर्तनपछि राजनीतिक अस्थिरता, शक्तिको रिक्तताले द्वन्द्व हुँदै देश नै गृहयुद्धमा जाने खतरा बढिरहेको छ । आँधी त आयो फेरि अर्को आँधी आउनुअघि सन्नाटा त छाइरहेको छैन ?
देशमा आर्थिक संकट गहिरिँदै जाने अवस्था विकास भइरहेको छ । यसको असर नेपालमा मात्र नभई भारतमा पनि पर्न सक्ने देखिन्छ । सैन्य र आर्थिक शक्तिका रूपमा उदाइरहेको भारत छिमेकी देश नेपालको राजनीतिक अस्थिरताबाट नयाँ चुनौतीको सामना गर्नुपर्ने परिस्थितिको पूर्वतयारमा छ ।
चीनका लागि पनि उत्तिकै चुनौती छ सीमा जोडिएको र नजिकका दक्षिण एसियाका देशहरूको राजनीतिक अस्थिरताबाट । एकपछि अर्को विद्रोह र त्यसले निम्त्याएको राजनीतिक अस्थिरताको आगो भारतको वरपरका देशहरूमा सल्किएको छ । त्यो अस्थिरताको आगो सल्कने सम्भावना छिमेकमा नै रहन्छ । तसर्थ, नेपाल मामलामा भारत र चीनको रचनात्मक कूटनीति भूमिका अनिवार्य छ । त्यो नेपालका लागि मात्र नभई उनीहरूकै हितमा पनि छ ।
नेपालको राजनीतिक अस्थिरता या द्वन्द्वबाट जसले लाभ लिने रणनीति चाल्छ, त्यो उसैका लागि प्रत्युत्पादक हुनेगरी मार्ग तयार अनिवार्य छ । यसमा नेपालको उदीयमान नयाँ पुस्ताका राजनीतिक नेताहरूले पनि समयमै सुझबुझपूर्ण भूमिका खेल्नुपर्छ ।











