Logo
Logo

सीके राउत भन्छन्- मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ


567
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् । मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोजकुमार यादव नियुक्त भएपछि डा. राउतको यो प्रतिक्रिया आएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ ।’ उनले अब ‘स्वायत्तताको आन्दोलन’को उद्घोष जरूरी रहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो ।’

‘मधेश प्रदेशसभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौँ, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं । डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौँ’ उनले भनेका छन् ।

उपचारका लागि काठमाडौं जान्छु भनेर निवासबाट हिँडेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबासको एक होटलमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि आलोचना भइरहेको छ ।

यसै प्रसंगमा डा. राउतले मधेश प्रदेशसभाको बैठक सडकमा डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् । उनले लेखेका छन्, ‘संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोध साध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं ।’

अध्यक्ष राउतले अगाडि भनेका छन्, ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ । त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाइको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ ।’ उनले ५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन भन्दै राउतले भनेका छन्, ‘मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्