Logo
Logo

घुससँगै होटलमा युवती भेटिएपछि..


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज । गत बुधबार राती प्रहरी कन्ट्रोल १०० मा फोनके घण्टी बज्यो । सुन्धाराको इसन होटलमा रक्सी खाएर ठूलो हो–हल्ला भइरहेको कुरा कसैले फोनबाट प्रहरीलाई खबर गरे । कन्ट्रोलको आदेशअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाको टोली तत्कालै त्यस होटलमा पुग्यो । होटलमा २/३ समूह होहल्ला गरिरहेका थिए ।

होटलको १०२ नम्बर कोठामा मदिरामा मात्तिएको अवस्थामा एक व्यक्ति भेटिए । उनी राम्रोसँग बोल्न समेत नसक्ने अवस्थामा थिए । कोठामा एक युवती समेत थिइन् । युवतीलाई उनले गाली गरिरहेका थिए । त्यही विषयलाई लिएर छिमेकीले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए ।

प्रहरीले सोधपुछ गर्ने क्रममा उनी त महाकाली सिंचाई आयोजना, कंचनपुरका कायम मुकायम आयोजना निर्देशक प्रचण्ड देव बिष्ट भएको खुल्यो । कोठामा चेक गर्ने क्रममा उनीसँग ११ लाख भेटियो । अस्वभाविक पैसा भेटेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थाल्यो । उनले रक्सीको तालमा साँचो कुरा बताए । ‘विभागको डिजी र मन्त्रालयका सचिवलाई बुझाउन ल्याएको हुँ ।’ घुस लेनेदनको सुइको पाएपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत खबर ग¥यो । आयोगलको टोलीले पनि उनीसँग कुरा गर्दै भिडियो खिच्यो, जसमा उनले हाकिमहरुलाई बुझाउन सो रकम ल्याएको बताएका छन् ।

सोही आधारमा अख्तियारले उनलाई हिरासतमा राखेर उनीमाथि छानबिन थालेको छ । स्रोतका अनुसार यो प्रकरणमा जलस्रोत तथा सिचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी समेत फस्ने सम्भावना देखिएको छ । यो घटनाले उर्जा मन्त्रालयमै खैलाबैला भएको छ । यो विषयमा अख्तियारले अहिलेसम्म औपचारिक रुपमा केही जानकारी दिएका छैन । जसले गर्दा कतै सिंचाईका हाकिमहरुलाई जोगाउन आयोगका कर्मचारीहरु नै लागेका त छैन भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्