पुरस्कार र पत्रकार « Drishti News – Nepalese News Portal
Logo

पुरस्कार र पत्रकार


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

आश्विन ६ गते मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मैले प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार ग्रहण गरेपछि धेरैले शुभकामना दिए । शुभकामना दिनेमध्ये एक जना थिए, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत । बस्नेतले भने– पत्रकारहरु पुरस्कृत हुनु राम्रो कुरा होइन भनिन्छ । पत्रकारको न त शत्रु हुन्छ, न त मित्र नै । पुरस्कारले पत्रकारितालाई भ्रष्ट बनाउने हुँदा सकभर यसबाट पत्रकारहरु जोगिनुपर्छ भन्छन् । यो कुराले मेरो मथिंगल खल्बलियो । पुरस्कार त ग्रहण गरिनै सके, अब भ्रष्ट हुनबाट जोगिनु नै मेरो लागि पहिलो कर्तव्य हुनेछ । पुरस्कारले पत्रकारिता पेशाप्रतिको मेरो नैतिक जिम्मेवारीलाई जोगाउन सकेँ भने मात्रै पत्रकारिताको माध्यमबाट देश, जनताको सेवा र लोकतन्त्रको सुदृढीकरण गर्न सक्ने छु ।

पत्रकारिता भन्नु नै मर्यादित र जिम्मेवार पेशा हो । यसका पनि मूल्य, मान्यता र सीमाहरु छन् । त्यसको ख्याल नगर्दा पत्रकारिताप्रति आम मानिसको धारणा गलत बन्दै गएको छ । जस्तो भाँडोमा पानी राख्यो, त्यस्तै आकार लिन्छ भनेझैँ पत्रकारिताको माध्यमबाट सम्प्रेषण हुने सूचना र विचारले समाज विकासको बाटो तय गरेको हुन्छ । पत्रकारिता पेशाले सिंगो देश र समाजलाई गतिशील बनाइरहने हुँदा गलत, भ्रामक र पूर्वाग्रही सामग्रीबाट पत्रकारिता क्षेत्रलाई जोगाउन सक्यौँ भने मात्रै पत्रकारिता पेशाबाट सभ्य समाजको निर्माण गर्न सक्छौँ ।

पत्रकारिता पेशा समाजको ऐना मात्र नभई आम नागरिकको सूचना र ज्ञानको स्रोत हो । यस पेशामा संलग्न पत्रकारहरु देश, समाज र नागरिकप्रति उत्तरदायी भए मात्र नागरिकले मात्रै सही सूचना र विचार ग्रहण गर्न सक्छन् । पत्रकारिताको धर्म, मर्म र मर्यादामा बसेर अरुप्रति औँला ठड्याउँदा, त्यो औँला आफूप्रति पनि सोझिन सक्छ भन्ने कुरामा पत्रकारहरु सधैँ सजग हुनुपर्छ । पत्रकार भगवान् होइनन्, मानिस नै हुन् । मानिसबाट गल्ती हुन्छ भन्दैमा पत्रकारिता पेशामा संलग्न व्यक्तिलाई गल्ती गर्ने छुट हुँदैन । किनभने, पत्रकारले झुठो सूचना सम्प्रेषण गर्दैन भन्ने विश्वव्यापी मान्यता हो । यसै मान्यताको आधारमा यस पेशालाई चौथो अंग भनिएको हो ।

पत्रकार भनेपछि मै हुँ भन्ने घमण्ड पलाएका व्यक्तिहरु पनि यस पेशामा विद्यमान छन् । वास्तवमा पत्रकार कुनै विशेष व्यक्ति होइन । ऊ पनि सामान्य नागरिक हो । पत्रकारिता पेशा भनेको माध्यम मात्र हो । जसले चौविसै घण्टा सही सूचना र विचारद्वारा विश्वलाई सजग र सचेत बनाइरहेको हुन्छ । जसले इमान्दारका साथ यो पेशालाई अँगाल्छ ऊ नै सफल पत्रकार बन्छ । पत्रकारको मूल्यांकन सरकारले होइन, जनताले गर्ने हुँदा जनताको नजरमा अटल रहनु नै एउटा सफल पत्रकारको जीवन हो ।

 

प्रतिक्रिया दिनुहोस्