Logo
Logo

मिश्रलाई अख्तियारको ताकेता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको भनेर अडियो सार्वजनिक गरी विदेश भागेका विजयप्रकाश मिश्रलाई अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वदेश फर्काउने भएको छ । बहुचर्चित सो घटनाको छानबिनका लागि मिश्रलाई आयोगले झिकाएको हो ।

जापान भागेका मिश्रलाई उपस्थित हुन अख्तियारले गत १७ भदौमा सार्वजनिक सूचना प्रकाशन गरेको थियो । स्रोतका अनुसार असोज १४ गते बुधबार मिश्रले आफू बयानका लागि उपस्थित हुने जानकारी गराएका छन् ।

प्रिन्टिङ प्रेस छपाइका लागि स्वीस कम्पनीको एजेन्टका रुपमा उनी तत्कालीन मन्त्री बाँस्कोटासँग डिल गर्न गएका थिए । तर, उनको कम्पनीले ठेक्का नपाउने भएपछि कुरा गरेको एक वर्षपछि अडियो सार्वजनिक गरेका थिए । त्यसपछि मन्त्री बाँस्कोटाले छानबिनका लागि भनेर राजिनामा दिएका थिए । जुन घटनाको छानबिन हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तिम चरणमा पु¥याएको छ । आयोगले बाँस्कोटा, विकल पौडेललगायतसँग बयान लिइसकेको छ । अडियाको जाँचसमेत गरिएको आयोग स्रोत बताउँछ ।

साथै मिश्रमाथि अन्य निकायले पनि छानबिन गर्ने सम्भावना देखिएको छ । उनले जापान लैजाने भन्दै धेरै व्यक्तिहरुलाई ठगी गरेको उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्