Logo
Logo

जाडो छल्न माथिल्लो मुस्ताङका विद्यालय बेँसीमा स्थानान्तरण


252
Shares

मुस्ताङ । कठ्याङ्ग्रिने जाडो र हिमपातको जोखिमका कारण माथिल्लो मुस्ताङका विद्यालयहरू हरेक वर्षझैं यसपटक पनि बेँसीमा झरेका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई पठन–पाठन निरन्तर राख्न बेँसीमा स्थानान्तरण गरिएको हो ।

The current image has no alternative text. The file name is: mustang.jpg

लोमान्थाङमा तीन सामुदायिक र चार धार्मिक गुम्बा विद्यालय छन् । तीमध्ये छोन्हुप झिन्जु, राष्ट्रिय आधारभूत र दिव्यदीप माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पोखरा र वरपरका स्थानमा घुम्ती कक्षा सञ्चालनका लागि झारिएको छ । यस्तै मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा गुम्बा विद्यालय पनि आफ्नै खर्चमा पोखरामा कक्षा सञ्चालन गर्दै छन् ।

संघीय सरकारले घुम्ती विद्यालय सञ्चालनका लागि लोमान्थाङका हरेक सामुदायिक विद्यालयलाई वार्षिक रु ३ लाख ५० हजार अनुदान र कक्षा ४ देखि माथि पढ्ने विद्यार्थीलाई जनही रु ५ हजार छात्रवृत्ति उपलब्ध गराउँछ । गाउँपालिकाले पनि तल्ला कक्षाका विद्यार्थीलाई मासिक रु ४ हजार सहयोग गर्ने गरेको छ ।

लोघेकर दामोदरकुण्डका तीन सामुदायिक र दुई गुम्बा विद्यालय पनि कात्तिक १० गते बेँसी झरेका छन् । चराङ, घमी र जनज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोखरा र तनहुँका विभिन्न स्थानमा स्थानान्तरण गरिएको छ । संघीय अनुदानले नपुग्ने भन्दै गाउँपालिकाले थप रु २५ लाख बजेट छुट्याएको छ ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ–थासाङका विद्यालय भने हिउँदे बिदा दिई पुस–माघमा पठनपाठन स्थगित गर्छन् । वैशाखमा हिउँ पग्लिएपछि सबै विद्यालयहरू पुनः आफ्नै स्थानमा फर्केर नयाँ शैक्षिक सत्र सुरु गर्ने परम्परा कायम छ ।

प्रतिक्रिया दिनुहोस्