Logo
Logo

मधेशका सांसदहरू उपसभामुखको कक्षमा थुनिए


1.4k
Shares

काठमाडौं । मधेश प्रदेशका सभामुखले पदअनुकूल आचारण नगरेको भन्दै प्रस्ताव दर्ता गर्न पुगेका सात राजनीतिक दलका सांसदहरूलाई उपसभामुखको कार्यकक्षमा थुनिएको छ । उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा सभामुख रामचन्द्र मण्डल र नेकपा एमालेका नेता-कार्यकर्ताहरूले उनीहरूलाई थुनेका हुन् ।

प्रस्ताव दर्ता गराएर बाहिर निस्कन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपका क्रममा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव, लोसपाका प्रदेश सांसद उपेन्द्र महतो र जसपा नेपालका सांसद राजकुमार गुप्तामाथि हातपात भएको छ । 

प्रदेश सांसद महतोले आफूहरू सभामुखविरुद्ध प्रस्ताव दर्ता गराएर निस्कने क्रममा सभामुखसहित उनका कार्यकर्ताले हातपात गरेको आरोप लगाएका छन् । गत शनिवार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने बेला सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको भन्दै नेपाली कांग्रेससहितका सात दलले मण्डललाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएका थिए ।

सभामुख मण्डल एमालेबाट निर्वाचित भएका थिए । पछिल्लो घटनाक्रम सभामुख मण्डल र एमाले कोटाकै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीका कारण निम्तिएको भन्दै सात दल रुष्ट छन् । सभामुख एमालेको भएको कारण सत्तापक्षीय दलहरू छलफलमै रहेका बेला सभामुख मण्डलले सदनको कामकारबाही अघि बढाएको र बाध्य भएर तत्कालीन मुख्यमन्त्री सोनलले राजीनामा दिनुपरेको सात दलीय गठबन्धनको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्