काठमाडौँ । भारतीय टायल्स र बाथवेयर निर्माता सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एशिया क्षेत्रमा आफ्नो ब्रान्ड प्रतिनिधित्व गर्न नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

कम्पनीका अनुसार, पारसको सहभागिताले नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ बलियो बनाउँदै सोमानी सेरामिक्सको बजार पहिचान र अग्रस्थानलाई थप प्रभावशाली बनाउने अपेक्षा राखिएको छ।
ब्रान्ड फेसका रूपमा पारसले टायल्स, बाथवेयर, एडहेसिभ, वाटरप्रुफिङ लगायत कम्पनीका सबै उत्पादनहरूको प्रवर्द्धनमा विभिन्न प्रचार–प्रसार गतिविधिमार्फत सक्रिय भूमिका निभाउनेछन्।
सोमानी सेरामिक्सका सहअध्यक्ष सुजित मोहन्तीले पारसलाई कम्पनीमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै भने, “नेपाल हाम्रो प्रमुख बजारमध्ये एक हो। पारस खड्काको विश्वसनीय छवि र जनस्तरमा रहेको लोकप्रियताले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई थप सबल बनाउनेछ। यो केवल साझेदारी होइन, अग्रणी व्यक्तित्व र अग्रणी कम्पनीको प्रेरणादायी मिलन हो।”
मार्केटिङ प्रमुख तथा उपाध्यक्ष अंशुमन चक्रवर्तीले पारस खड्कालाई नेपालभर परिचित र भरोसायोग्य खेल व्यक्तित्वका रूपमा सम्बोधन गर्दै उनको उपस्थिति ब्रान्डलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे।
सहकार्यप्रति उत्साहित पारस खड्काले भने, “जीवनमा मैले पछ्याउँदै आएको मूल्य–मान्यताजस्तै उत्कृष्टता र गुणस्तरको निरन्तर खोज गर्ने ब्रान्डसँग हातेमालो गर्न पाउँदा खुसी लागेको छ।”











