काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज शीतलनिवासमा भेटवार्ता गरेका छन् । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेता गुरुराज घिमिरेसहित दुई दर्जनभन्दा बढी नेताहरू भेटमा सहभागी थिए ।

भेटमा जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति, आगामी फागुन २१ गते हुने भनिएको स्थानीय तह निर्वाचन र कांग्रेसभित्रको आन्तरिक विवादबारे छलफल भएको हो । घिमिरेका अनुसार राष्ट्रपति पौडेलले वर्तमान सङ्कटको एकमात्र निकास निर्वाचन भएको बताए । उनले भने, ‘राष्ट्रपतिज्यूले सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूसँग निरन्तर छलफलमा रहेकाले अहिलेको अवस्थामा निर्वाचनबाहेक अन्य विकल्प नभएको स्पष्ट गर्नुभयो। नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेमा चुनावी वातावरण बनाउन ठूलो सहयोग पुग्ने उहाँको विश्वास छ।’
संविधानलाई पुरानै लिकमा फर्काउन पनि निर्वाचन अपरिहार्य रहेको राष्ट्रपतिको भनाइ थियो । कांग्रेसभित्रको आन्तरिक कलहबारे भने राष्ट्रपति पौडेलले खुलेर बोल्न नचाहेको जनाइएको छ । उनले पार्टीको आन्तरिक मामिलामा आफूले टिप्पणी गर्न नमिल्ने भन्दै मिलेर अघि बढ्न सुझाव दिएका हुन् ।
घिमिरेले भने, ‘हामी सबै विशेष महाधिवेशन पक्षधर मात्रै थियौँ । ‘तपाईँहरू मिलेर जानुस्, फुट र विग्रहले कसैलाई फाइदा गर्दैन ।’ राष्ट्रपतिले कांग्रेसले पुराना तथा नयाँ सबै दलहरूसँग सहकार्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।











