Logo
Logo

महेश बस्नेत पक्राउको मागसहित सुर्खेतमा युवाको तीव्र प्रदर्शन


1.2k
Shares

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरू सडकमा उत्रिँदै तीव्र आन्दोलन गरेका छन् । बस्नेतको जेन–जी आन्दोलनमाथिको ‘भड्काउने शैली’को अभिव्यक्ति र युवामाथि त्रास सिर्जना गरेको आरोप लगाउँदै उनीहरूले व्यापक नाराबाजी गरेका हुन् ।

The current image has no alternative text. The file name is: mahesh-basnet.jpg

मंगलबार पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको जागरण अभियानसँगै सुर्खेत पुगेका बस्नेतलाई लक्षित गर्दै युवाहरूले वीरेन्द्रनगर–८ मा प्लेकार्डसहित प्रदर्शन गरे । ‘अरेस्ट महेश बस्नेत’, ‘छेडेर कलिला छाती, फेरि टेक्लास् हामी माथि !’, ‘गुण्डाको गुन्डा मुर्दावाद’ जस्ता नाराले वीरेन्द्रनगरको वातावरण तनावपूर्ण बनेको थियो ।

जेनजी अभियानका अगुवा सुवर्ण थापाले बस्नेतले लगातार भड्काउने अभिव्यक्ति दिँदै आन्दोलनविरुद्ध मनोवैज्ञानिक दबाब सिर्जना गरेको आरोप लगाए । “मुक्त अभिव्यक्ति अधिकार छ, तर गुन्डागर्दी र धम्कीको अधिकार हुँदैन,” थापाको भनाइ छ ।

यसैबीच, युवा संघको जिल्ला समन्वय समितिको हलमा चलिरहेको कार्यक्रम बाहिर युवाहरूको विरोध उस्तै तीव्र रह्यो । बस्नेतको आगमनसँगै सुर्खेतमा सुरक्षा व्यवस्था असाध्यै कडा बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहन बुढाथोकीले बताए । उनका अनुसार, स्थिति हालसम्म पूर्ण रूपमा शान्त छ र कुनै अप्रिय घटना नघटेको छ।

एमालेले पनि बस्नेतको पक्षमा आफ्नो ठूलो युवा समूह परिचालन गरेको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवाली, युवा संघ अध्यक्ष क्षितिज थेबे लगायत नेता आज बिहानै सुर्खेत अवतरण गरेका थिए।

सुर्खेतमा बस्नेत प्रवेश गरेसँगै देखिएको ‘प्रतिरोध बनाम प्रदर्शन’को द्वन्द्व राजनीतिक वृतमा आजको सबैभन्दा चर्चित दृश्य बनेको छ।

प्रतिक्रिया दिनुहोस्