काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पार्टी पछि हट्न नसक्ने स्पष्ट पारेका छन् । मङ्गलवार उदयपुरको गाईघाटमा आगजनीमा परेको पार्टी कार्यालयको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशेष महाधिवेशनको ‘ब्याक गियर’ नहुने बताए ।

उनले भने, ‘कांग्रेस विधानमा विशेष महाधिवेशन आह्वान गर्ने प्रावधान छ, तर त्यसलाई फिर्ता लिने कुनै व्यवस्था छैन । त्यसैले अब ९० दिनभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ । यदि सोही अवधिमा १५औँ नियमित महाधिवेशन गर्ने लिखित सहमति भयो भने मात्र विशेष महाधिवेशनको माग स्वतः सम्बोधन हुन्छ ।’
महामन्त्री शर्माले अब बल सभापति शेरबहादुर देउवाको कोर्टमा रहेको बताए । ‘दुई महामन्त्रीले के भन्छन् वा केन्द्रीय सदस्यहरूको सङ्ख्या कति छ भन्ने कुरा अब गौण भयो । असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले लिखित वक्तव्यमार्फत देखाउनुभएको संयम, समन्वय र परिपक्वताको सन्देशलाई उहाँ आफैँले कायम राख्नुहुन्छ कि राख्नुहुन्न, यही मुख्य प्रश्न हो,’ उनले भने ।असोज २८ को वक्तव्यमा “मङ्सिरमा महाधिवेशन” भन्ने वाक्यांश छुटेको विषय गम्भीर गल्ती भएको उनको भनाइ छ ।
‘त्यो छुट्नु नै गल्ती थियो भन्ने प्रमाणित भइसकेको छ । अब पार्टी र देशको वर्तमान सङ्कटको समाधानका लागि सभापतिज्यूले निर्णायक र सकारात्मक पहलकदमी लिनुपर्छ। उहाँको सक्रिय हस्तक्षेपले मात्र कांग्रेसलाई निकास दिन सक्छ,’ शर्माले भने ।











