काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशका इञ्चार्जहरूलाई जिम्मेवारीमुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले इञ्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो ।

खाली रहेको प्रदेश इञ्चार्जहरू केन्द्रीय सदस्यबाट पूर्ति गरिने रास्वपाले जनाएको छ । प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका नेताहरू पार्टीको सचिवालय सदस्यसमेत हुन् । २१ फागुनको निर्वाचनलाई मध्यनजर गर्दै उनीहरूलाई प्रदेश इञ्चार्जबाट पदमुक्त गरिएको रास्वपाले जनाएको छ ।
‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो’ सचिवालय बैठकको निर्णयमा भनिएको छ । रास्वपाले गत वैशाखमा सातै प्रदेशमा इन्चार्ज तोकेको थियो ।
जसअनुसार कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल इञ्चार्ज तोकिएका थिए ।











