
मुलुकमा केपी शर्मा ओली नेतृत्वको आफ्नै दुई तिहाइको शक्तिशाली सरकार थियो । आरजुको गर्भबाट जन्मिएकै भए पनि मुलुकका दुई ठूला राजनीतिक दलहरू सामेल थिए । तर दुईतिहाइ बहुमतको त्यो सुनौलो अवसरलाई ओली नेतृत्वको सरकारले आफ्नै छायाभन्दा टाढा कहिल्यै देख्न सकेन । सत्ता र राजनीतिक दर्पणमा उभिएर हरेक दिन उनीहरूलाई जनताको रूपरंग होइन, आफ्नै आसेपासेको परिचित र ‘हो–हजुर’ खालको मुखमण्डल मात्र रुचिकर बन्न थाल्यो ।
मध्यरातमा छलफल गरेर जन्मिएको त्यो सरकार नै आन्तरिक रूपमा एक प्रकारको अराजक प्रयोगशालाजस्तै बन्न पुग्यो । सरकार गठन भएको करिब वर्ष दिनमै संविधानले दिएको मर्यादा र लोकतन्त्रले दिएको सीमा सबैलाई ओलीले भ्रष्ट र बिचौलियाको कठपुतलीजस्तै बनाइदिएका थिए ।
देश आर्थिक संकटबाट थलिँदै थियो, बेरोजगारीले घरघरको ढोकामा सुस्केरा हाल्दै थियो, विकासका नाममा कागजमै बग्ने नदीहरू वर्षौँदेखि जनताको आँखामा धुलो हालिरहेकै थिए । तर सत्ताको अहंकारले राज्यसत्ता हाँकिरहेका प्रधानमन्त्री र मन्त्रीहरूको कान नै बन्द गरिदियो । अनि एउटा शासन, जो लोकतान्त्रिक जिम्मेवारीले सजग, संवेदनशील र उत्तरदायी हुनुपर्ने थियो, त्यो उल्टै नागरिकका आवाजहरूलाई दमन गर्ने बाटोमा उत्रियो । मेरो देश, मेरो शासन भन्ने दम्भले ओली ‘ध्रुवे हात्ती’जस्तै बनेका थिए ।
फलस्वरूप देशभर फैलिएको असन्तुष्टि र आफ्नै भविष्य खोज्दै भोलिको दिन सुरक्षित बनाउन खोज्ने युवापुस्ताको आन्दोलनलाई कायरतापूर्ण ढंगले दबाउन खोज्दा राज्यले एउटा पुस्तालाई होइन, देशकै आशालाई नराम्रोसँग झट्का दियो । झरीको पानीले घाट बगाएजस्तै, त्यो निर्णयले सरकारलाई राजनीतिक धरापमा धकेलिदियो ।
त्यस्तो अवस्थामा ओली नेतृत्वलाई जनताले दिएको चेतावनी एउटा साधारण असन्तुष्टि मात्र थिएन, त्यो चेतावनी ‘नागरिक आवाज’ नामको एउटा गम्भीर खबरदारी थियो । परन्तु सत्ताको टेबलमा त्यो खबरदारीलाई बेमौसमी गीतझैँ बजाइयो । जनताको आवाज सुन्ने मनोवृत्ति नै नभएकाहरूले देशलाई लोकतन्त्र होइन, तानासाह शैलीको राजनीतिक फ्याक्ट्री बनाउने प्रयत्न गरिरहे ।
चाकडीमा पलाएका मन्त्रीहरू अनि महेश बस्नेतजस्ता हुकुमी पात्रहरूले आफ्नो राजनीतिक अस्तित्व नै उत्तेजना, भड्किलो अभिव्यक्ति र झुटो राष्ट्रियता बेचेर टिकेको सम्झिएनन् । बरु आज पनि फेरि त्यही पुरानै मसीले देशलाई मुठभेडतिर डोहो¥याउने भाषण गर्दै हिँडिरहेका छन् । यतिबेला एमाले नेताहरूको मनस्थितिमा नयाँ केही छैन, उनीहरूको अभिव्यक्ति उस्तै उत्तेजक, उस्तै उत्ताउलो र उस्तै दम्भले भरिएको छ ।
उनीहरू भोलि निर्वाचन जित्नु छ भने जनताको साथ र समर्थन होइन, प्रतिकार चाहिन्छ भन्ने भ्रममा बाँचेका छन् । देश एउटा संवेदनशील मोडमा छ, अर्थतन्त्र दयनीय अवस्थामा छ, जनताको भरोसा क्षतविक्षतजस्तै बनेको छ । राजनीतिक नेतृत्वप्रतिको विश्वास ओझेलमा परिरहेको बेला एमाले नेतृत्व विशेषतः ओली–बस्नेत र उनीहरूका उन्मादी भाषणहरू देशलाई पुनः विभाजन, द्वन्द्व र सामाजिक खतरापूर्ण स्थितिमा फर्काउन खोजिरहेको छ ।
भर्खरै बारामा एमाले कार्यक्रमप्रति युवापुस्ताले देखाएको बहिष्कार केवल असन्तुष्टि मात्र थिएन, त्यो ‘राजनीतिक चेत’को पुनर्जन्म थियो । देशका युवाहरूले भड्किलो शब्द, धम्कीयुक्त अभिव्यक्ति र झुटो श्रेयलाई राजनीतिक शैलीको खुला अस्वीकृति गरेका हुन् । राजनीतिको मञ्च भनेको जनताको विश्वास ओसार्ने ठाउँ हो । तर एमाले नेतृत्वले त्यसलाई बुझ्न सकेन ।
वास्तवमा राजनीतिक विश्वास धैर्यले बनाइन्छ, धम्कीले होइन । नेताहरूले आफ्नो भाषा र विचारलाई बारुदको चिसो धुवाँजस्तै बनाएर प्रसारण गर्दा पहिलो चोट देशलाई नै पर्छ, अनि दोस्रो चोट तिनै नेताहरूको अनुहारमा पर्छ, जसरी जेनजी विद्रोहका बखत नेताहरूको भागाभागको स्थिति पैदा भएको थियो । यसरी एमाले नेताहरूको पछिल्लो अभिव्यक्तिले देशलाई फेरि अर्को मुठभेडतिर लैजाने खतरापूर्ण स्थिति उत्पन्न गरिरहेको छ ।
राजनीति अब खुद्रास्तरको ‘भीड उत्पादन’ होइन, ‘भीड भगाउने’ कारक बनिरहेको छ । देशभरि जनताको रोष बढिरहेको छ, युवापुस्ताले ‘पुरानो शैलीको शक्ति प्रदर्शन’लाई अब प्रतिरोधात्मक चेतसहित खबरदारी गर्न थालेका छन् ।
ओली नेतृत्वको सरकारले जन्माएको अविश्वास, अभिव्यक्ति दमन गर्ने प्रवृत्ति, सामाजिक संरचनाको क्षति, आर्थिक बिग्रावट र राजनीतिक दम्भ आदि सबै आफ्नै कारणहरू आज एमालेले भोगिरहेको बहिष्कारका मूल विषय हुन् ।
देश किन संवेदनशील मोडमा छ ? किन जनतामा विश्वासको पुनर्जागरण हुनसकेको छैन ? किन एमालेले अहिले क्रोध, अस्वीकार र प्रतिरोधमात्र पाइरहेको छ ? भने कारण एउटै छ । त्यो हो उसको स्वेच्छाचारी प्रवृत्ति, अहंकारमय नेतृत्व र भड्किलो, भाषाशैली नै आज उसैलाई गलपासोजस्तै बन्दै गइरहेका छन् । यस्ता कुतसित मानसिकताले राज गरेका नेताहरूबाट मुलुकले विकास, स्थिरता र सद्भावको अपेक्षा गर्नु भनेको बालुवामाथि घर बनाउनुजस्तै असम्भव हो ।
देशको राजनीति ‘विकासका कार्यक्रम’ होइन, ‘अपमानका भाषण’ मा रूपान्तरित हुन्छ भने जनताले प्रतिक्रिया दिन्छन् र अहिले देशका विभिन्न स्थानमा एमालेलाई बहिष्कार गरिएका सन्दर्भहरू पनि त्यही प्रतिक्रियाको एउटा ताजा पानामात्र हो । देशभर अब प्रतिरोधका आवाजहरू झनै बलिया हुँदैछन् ।
एमालेको नेतृत्वले फेरि नाक फुलाउँदै, उत्तेजक अभिव्यक्ति छ्याप्दै, विपक्षीलाई गाली गर्दै राजनीतिक अस्तित्व बचाउन खोजे पनि, जनता अब गालीको भाषामा होइन, उत्तरदायित्वको भाषामा राजनीतिलाई हेर्न थालेका छन् । यही कारणले सर्वप्रथम त एमालेले आफूलाई नसच्याएसम्म यस्ता प्रतिरोधहरू भई नै रहनेछन् ।
पार्टी पदाधिकारीको विरोधका बाबजुद पनि ओलीले प्रतिरोध दस्ता गठन गरेका छन् । पछिल्ला वर्षहरूमा ओलीको नियत हेर्दा बुझिन्छ कि उनको लक्ष्य बहसको संस्कृति विकास गर्नु होइन, आफूलाई केन्द्रमा राखेर बाँकी सबैलाई परिधिमा धपाइराख्नु हो ।
यही मानसिकताले आज ‘भोलेन्टियर्स फोर्स’ नामक दस्ता जन्मायो । ओलीको यो कदम ‘संगठन सुदृढीकरण’ भन्दा ‘सत्ता सुदृढीकरण’को संकेत हो । असहमतिको आवाज थिचेर, आफ्नो अनैतिक शक्ति प्रदर्शन गरेर, फोर्सका आडमा पार्टी सञ्चालन गर्ने शैली कमजोर मानसिकताको उपज हो ।
अन्त्यमा, एमाले नेतृत्वले बुझ्नुपर्ने सबैभन्दा ठूलो सत्य के छ भने देश मुठभेडले चल्दैन, देश दम्भले अघि बढ्न सक्दैन र देशले सधैँभरि कुनै अहंकारी नेताको धम्की सहेर उसको रमिता हेरी बसिराख्न सक्दैन । बरु देश त न्याय, सुशासन, सहभागिता र संवेदनशील राजनीतिक व्यवहारले बाँचिरहन्छ । तथापि यी कुराहरू बुझ्न अस्वीकार गर्ने पार्टी वा नेताहरूलाई इतिहासले कहिल्यै माफ गर्न सक्दैन ।
– लमही दाङ, हालः साउदी अरेबिया











