
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक बस्दै नबसी स्थगित भएर आजका लागि तोकिएको बैठक फेरि भोलिका लागि सरेको हो ।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अब शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेगरि आजको बैठक स्थगित गरिएको जानकारी दिएका छन् । यही मंसिर १ गते बस्ने भनिएको बैठक बस्दै नबसी पटकपटक सर्दै आएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै दुई महिना अघिदेखि जारी छ । पार्टीको महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा कांग्रेसभित्र तीव्र विवाद छ ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले हिजो काठमाडौँमा भेला गरेर सभापति शेरबहादुर देउवामाथि दबाब बढाएका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले तुरुन्तै विशेष महाधिवेशन गरेर युवा पुस्तालाई नेतृत्व सुम्पिन संस्थापन पक्षलाई दबाब दिँदै आएका छन् ।











