
काठमाडौं । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि बिहीबार बेलुकासम्म १०८ राजनीतिक दलले निवेदन दिएका हुन् ।
आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनको समयमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् ।
बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी रहेका छन् ।
पुराना र नयाँ दल गरेर अहिलेसम्म आयोगमा १ सय ३९ दलको दर्ता कायम रहेकोमा १ सय ८ दल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
अहिलेसम्म दर्ता भएका दलमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १८ वटा नयाँ दलले पहिलो पटक निर्वाचनमा भाग लिने भएका छन् ।
आयोगका अनुसार जेनजी आन्दोलनपछि दर्ता भएका २१ वटा नयाँ दलमध्ये बिहीबार साँझसम्म १८ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् ।
पहिलो पटक भाग लिन लागेका दलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)देखि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतका दल रहेका छन् ।











