
काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टीले एकता र सहकार्यका लागि दलहरूलाई आग्रह गरेको छ । तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले विज्ञप्ति जारी गर्दै मधेश, थरुहट, आदिवासी जनजातिसहित सङ्घीयतावादी शक्तिहरूबीच एकताका लागि एकजुट हुन अपिल गरेका हुन् ।
उनले भनेका छन्, ‘तराई मधेस लोकतान्त्रिक पार्टी मधेस, थरुहट, आदिवासी जनजातिसहित सङ्घीयतावादी शक्तिहरूबिच एकजुट हुन सार्थक संवादको लागि अपिल गर्दछ ।’
उनले मधेश, थरुहट तथा आदिवासी जनजातिको पहिचान, सम्मान र समान नागरिक अधिकारको व्यवहारिक अभ्यासका लागि सङ्घर्षरत शक्तिहरूलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको समेत उल्लेख गरेका छन् ।
आन्तरिक तथा बाह्य कारणले भेदभाव र सिमान्तीकरण विरुद्ध सङ्घर्षरत यी शक्तिहरू कमजोर भएको दाबी गर्दै उनले आफ्नो न्यायपूर्ण एजेन्डाप्रति प्रतिबद्ध भएर एकताका लागि अघि सर्न आग्रह गरेका छन् ।
महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अलग भएर वृषेशचन्द्र लालले तमलोपा पुनर्गठन गरेका थिए ।
केही दिनअघि लोसपा नेपालका अध्यक्ष ठाकुरले पनि एक विज्ञप्ति जारी गरी पार्टी छाडेर गएका वा अलग भएकाहरूलाई पुनः फर्किन आह्वान गरेका थिए । सो आह्वानपछि अध्यक्ष लालको यस्तो अपिल आएको हो ।











