Logo
Logo

एमालेको ११औँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट हुँदै


441
Shares

काठमाडौं । नेकपा एमालेले ११औँ महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनोट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भइसकेको छ । केही निर्वाचन क्षेत्रमा ११ मंसिरमै सहमति जुटेको छ भने सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ ।

फाइल फोटो

निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवासहित करिब २ हजार प्रतिनिधि छनोट हुँदैछन् ।
यस्तै प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन् । एमाले महाधिवशेनमा करिब २२ सय मनोनित प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यस अघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।

एमालेको १५ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्ने छ । गौतमका अनुसार प्रति ८ सय सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको छ ।

दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ । ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन् । जनसंगठनबाट प्रतिजन संगठन पाँच जनाको प्रतिनिधित्व रहने छ । महासंघीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जना प्रतिनिधि रहनेछन् । विभाग र कार्यालयबाट एक एक जना प्रतिनिधि रहनेछन् । प्रवासबाट महादेश अनुसार पाँच जना प्रतिनिधि रहने छन् ।

केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् भने अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन् । यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।

एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्यमध्ये प्रदेशबाट ४५, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, यस्तै प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनबाट सहित गरी अनुमानित १९ सयभन्दा बढी प्रतिनिधि रहने छन् ।

पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । यी सबै जोड्दा कुल २१ सयभन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । तर, सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुनेगरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्