काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफुले दिएको अभिव्यक्ति कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको स्पष्ट गरेकी छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले आफ्नो अभिव्यक्तिमाथि भएको टिकाटिप्पणीप्रति प्रतिक्रिया दिदै आफ्नो आशय कुनै धर्म वा समुदायलाई होच्याउने नभएको बताएकी हुन् ।
उनले भनेकी छन्- ‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ ।’
प्रधानमन्त्री कार्कीले गत मंगलबार अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा बोल्दै मुस्लिम समुदायको सन्दर्भमा दिएको अभिव्यक्ति विवादित बनेको थियो । प्रधानमन्त्री कार्कीले सो कार्यक्रममा भनेकी थिईन्- ‘मुसलमानको व्यवहार र प्रवृत्ति जुन छ, यति अन्यायपूर्ण देखिन्छ दिउँदै लगेर गाड्ने । कतिपय मुस्लिम देशहरुमा महिलालाई पढ्न नदिने । जब मुसलमानहरुले हमला गर्न थाले, त्यसपछि उनीहरुले सात वर्षको बच्चालाई पनि विवाह गर्ने, अरु कुराहरुलाई पनि सङ्र्कीण बनाउँदै लगे भन्ने छ ।’











