Logo
Logo

म्युजिक भिडियोले धानेको छ बुटिक-कुसुम श्रेष्ठ, फेसन डिजाइनर


- दृष्टि न्युज/संवाददाता


नेपालीको महान चाड दशैँ नजिकिँदै छ । तर, विगतका वर्षमा जस्तो रौनकता छैन । कोरोना महामारीले संकट ननिम्तिएको भए यतिखेर बजारमा किनमेल गर्नेको भीड हुन्थ्यो । कोरोनाबाट अति प्रभावित क्षेत्रमध्ये फेसन बजार पनि एक हो । शौखिनहरुको दुनियाँ मानिने फेसन बजार कोरोना संक्रमणपछि अपवादबाहेक प्रायः ठप्प छ । तिनै अपवादमध्ये एक हो, डिल्लीबजारस्थित ‘कुसुम द बुटिक’ यो बुटिक सञ्चालनमा आएदेखि आफ्नो बजार ओगट्न सफल हुँदै आएको छ । कोरोना महामारीबीच पनि व्यापार सुचारु राखेकी बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर कुसुम श्रेष्ठ भन्छिन्, ‘मेरो लागि लकडाउन फलिफाप जस्तै भएको छ ।’ काठमाडौंमा सयौँ बुटिकहरु बन्द हुने अवस्थामा छन् । तर, कुसुमलाई भने भ्याइनभ्याई छ । उनी भन्छिन्, ‘म्युजिक भिडियो र फोटोसुटबाट नाम र दाम एकैसाथ मिलेको छ ।’ बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर कुसुम श्रेष्ठसँग एमपी सुब्बाको जम्काभेट ।

कोरोनाको असर बुटिकमा परेको छैन ?

धेरै बुटिकहरु बन्द भइसकेका छन् । कुनै बन्द हुने अवस्थामा पुगेका छन् । त्यो कोरोनाकै कारण हो । झण्डै ६ महिनासम्म बुटिक बन्द गर्नुपरेको थियो । जसले व्यवसायीमा असर पर्ने चिन्ता थियो । तर, अहिले म्युजिक भिडियो र फोटोसुटको कामले कभरेज गरेको छ ।

लकडाउनमा पनि व्यापार चलिरहेकै छ ?

करिब चार महिनाचाहिँ ठप्प थियो । तर, विस्तारै अनलाइनबाट अर्डर आउन थाल्यो । त्यसपछि म्युजिक भिडियो र फोटोसुटका लागि अर्डरहरु आउन थाले । अहिले त भ्याइनभ्याई भएको छ ।

अन्य बुटिक बन्द हुने अवस्था छन् । तपाइँलाई भ्याइनभ्याई ?

खै, त्यो कसरी भन्नु ? यो बुटिक सञ्चालनमा ल्याएदेखि नै मलाई फापेको छ । अर्को मेरो सर्वसाधारण भन्दा बढी सेलिब्रेटी ग्राहक छन् । यदि म पनि नर्मल कस्टमरमै भर परेको भए हालत उस्तै हुन्थ्यो होला ।

त्यसोभए लकडाउनले खाशै असर गरेन ?

मेरो लागि कोरोना संक्रमणपछिको लकडाउन त अवसर जस्तै भयो । किनकि यही समयमा म्युजिक भिडियो र फोटोसुटका लागि कामहरु पाएँ । साथै, सेलिब्रेटीसँग चिनजान गर्ने अवसर पनि मिल्यो । यसले मलाई दोहोरो फाइदा भएको छ ।

भिडियो र फोटोसुटमा फाइदाचाहिँ कसरी हुन्छ ?

निर्देशक र फोटोग्राफरले गीत र लोकेशनको थिमअनुसार पहिरनको अर्डर गर्छ । भिडियो सुट भइसकेपछि कपडा फिर्ता हुन्छ । भाडावापत पैसा पनि आउँछ ।

बुटिकमा गरिएको पहिरन भाडामा दिँदा घाटा हुन्न ?

हुँदैन । मिहिनेत गरेअुनसार भाडा लिने गरेकी छु । भिडियो र फोटोसुटबाहेक अन्य प्रायोजनका लागि दिने गरेकी छैन । अर्को कुरा एकपटक प्रयोग भइसकेको कपडामात्र भाडा दिने गरेकी छु ।

एक सेट भिडियोका लागि कति भाडा लिनुहुन्छ ?

त्यो थिमअनुसार हुन्छ । बुटिकमै तयारी अवस्था रहेको पहिरन छ भने यस्तो हुन्छ । तर, निर्देशकले गीतको भाव र थिमअनुसार अर्डर गर्छ भने १५ देखि २० हजार रुपैयाँसम्म लाग्छ ।

लकडाउन यता कतिवटा भिडियोलाई भाडामा दिनुभयो ?

करिब १५ वटा म्युजिक भिडियोलाई लुगा डिजाइन गरेँ । फोटोसुट पनि १०÷१२ जना कलाकारको भयो । उनीहरुलाई मैले नै पहिरन तयार गरिदिएँ । केही दिनअघि मात्र नेपाली फिल्म ‘ए मेरो हजुर–४’को पोस्टरका लागि अनमोल केसी र सुहाना थापाको पहिरन डिजाइन गरेकी थिएँ ।

दशैँ नजिकिँदै छ । कतिको अर्डर आइरहेको छ ?

नर्मल कस्टमरको व्यापार ५० प्रतिशत कम छ । अघिल्लो वर्ष यतिखेर बुटिकमा भीड थियो । तर, अहिले छैन । चिनेको जानेको फाट्टफुट्टमात्र आइरहेका छन् । विदेशबाट अनलाइनमा अर्डर आइरहेको छ । व्यापार भनेको अनलाइन र म्युजिक भिडियोबाटै हो ।

पछिल्लो समय बजारमा बढी चलेको फेसन के हो ?

प्रायः बढी जाने भनेको सारी, कुर्था र गाउन नै हो । त्यसमा केही परिमार्जन हुनसक्छ । तर, यी सधैका लागि चलिरहन्छ । साथै, क्याजुअल पहिरन पनि जान्छ ।

फेसन व्यवसायबाट आत्मनिर्भर हुनसक्ने सम्भावना कतिको छ ?

पछिल्लो केही वर्षयता नेपालमा फेसनको बजार राम्रै छ । यदि कोरोना संक्रमणको महामारी नआएको भए नेपालमा फेसन ट्रेण्ड अझ बढ्थ्यो होला । तर, यो विश्वव्यापी महामारीले गर्दा फेसन बजारमात्र नभएर सबै क्षेत्र प्रभावित भएको छ । यस्तो अवस्थामा व्यवसायी टिकाइराख्न सक्यो भने भविष्य राम्रै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्