काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदानस्थलहरूको पुनरावलोकन गरेको छ । आयोगले देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार बसेको बैठकले अपायक परेका, भौतिक संरचना जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा पुराना मतदानस्थल खारेज गर्ने निर्णय गरेको छ ।
यसअघि देशभर १० हजार ८९२ मतदानस्थल रहेकोमा १६८ थप र ९३ खारेज हुँदा समग्रमा ७५ वटा मतदानस्थल बढेका छन् । योसँगै अब देशभर कुल १० हजार ९६७ मतदानस्थल कायम भएका छन् ।
पुनरावलोकनका क्रममा आयोगले मतदानस्थलको नाम र ठेगानामा रहेका त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा सार्ने तथा साबिककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कामहरू पनि सम्पन्न गरेको जनाएको छ ।











